नेपाली कांग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन् । शुक्रवारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एकीकृत भएको खण्डमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् । सम्बोधनका क्रममा डा. कोइरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गरे । वीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले बनारसमा रहँदाका स्मृतिहरू साझा गरे । वीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यस क्रममा हेरिएका चलचित्रहरूका बारेमा देउवाले देखाएको सूक्ष्म र हुबहु विश्लेषणबाट आफू प्रभावित भएको कोइरालाले बताए । उनले भेन, ‘लोकतन्त्रको आगमनपछि तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लण्डनबाट फर्किएलगत्तै शेरबहादुरजी प्रधानमन्त्री बन्नुभयो । उहाँ अत्यन्त भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ । शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ ।’ देउवाको उपस्थितिले नै कार्यक्रम सफल हुने उनले विश्वास व्यक्त गरे । देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्ताहरूलाई स्वागत गर्दै कोइरालाले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमायाचनासमेत गरे । उनले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिए ।
मीन विश्वकर्माले देउवालाई 'सभापति भनेनन्', 'नेता'मात्रै भने
काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले तीन दिने राष्ट्रिय भेला सुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा रहेका छन् । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको भेलामा इतर पक्षका शीर्ष नेताहरू सहभागी भएका छन् । देउवासँगै भेलाको संयोजक डा. शशांक कोइराला, पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, एनपी साउँद, डा. प्रकाशशरण महत उपस्थित भएका छन् । कार्यक्रमको सञ्चालन राष्ट्रिय भेला प्रचारप्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले गरिरहेका छन् । देउवा कार्यक्रम स्थलमा सहभागी हुँदै गर्दा विश्वकर्माले उनलाई पार्टीका सभापति तथा निवर्तमान सभापति नभनेर नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री भनेर आसन ग्रहण गराएका छन् । कार्यक्रमा स्वागत मन्तव्य राख्दै वागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने उनलाई पार्टीको संयोकजभ नेर सम्बोधन गरेका थिए ।
चक्र मल्ल बन्दैछन् सुदूरपश्चिमको अर्थमन्त्री
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएपछि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने टुंगो लागेको छ । एमाले संसदीय दलले प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ । एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको हो । थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने गरी दलले सिफारिस गरेको छ । त्यस्तै, सांसद दमन भण्डारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एउटा मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गर्ने निर्णय भएको छ । यस विषयमा नेकपासँग छलफल गरेर अन्तिम टुंगो लगाइने एमालेले जनाएको छ । एमालेले जानकी ऐरलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय पनि गरेको छ । एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीसहित आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ । एमालेको सरकार प्रवेशसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रवार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए । को हुन् अर्थमन्त्री बन्दै गरेका मल्ल ? डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित चक्र मल्लको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । डोटीको आदर्श गाउँपालिका-३, झुँडामा २०३७ सालमा जन्मिएका मल्ल किशोर अवस्थामै संगठित राजनीतिमा सक्रिय बनेका थिए । २०४९ सालमा सीताराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहँदा उनले एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा राजनीतिक गतिविधिमा सहभागिता जनाएका थिए । त्यसपछि विद्यार्थी संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनी विद्यालयस्तरीय कमिटीको अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको यात्रामा पुगे । विद्यार्थी राजनीतिमा सक्रिय मल्ल २०५७ सालमा डोटी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका थिए । अंग्रेजी विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले विद्यार्थी आन्दोलनपछि शिक्षण पेशालाई पनि निरन्तरता दिए । वि.सं २०६१ सालदेखि डोटी क्याम्पसमा अध्यापन सुरु गरेका मल्लले शिक्षा र राजनीति दुवै क्षेत्रमा समानान्तर रूपमा सक्रियता देखाए । पार्टी राजनीतिमा उनको भूमिका २०६४ सालपछि थप विस्तार भयो । सो वर्ष नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका उनी २०६६ सालमा जिल्ला उपाध्यक्ष र २०६९ सालमा जिल्ला अध्यक्षमा निर्वाचित भए । जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दा उनी तत्कालीन ७५ जिल्ला कमिटी अध्यक्षमध्ये सबैभन्दा कम उमेरका नेता मानिन्थे । विद्यार्थी आन्दोलन, शिक्षण पेशा र संगठन निर्माणको लामो अनुभव बोकेका मल्ल अहिले सुदूरपश्चिम प्रदेशको राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् ।