के कांग्रेसले अब हिन्दु एजेन्डा बोक्दैछ ?

देउवाले भने- म हिन्दू हुँ, हिन्दु

काठमाडौं । नेपाली कांग्रेसको संस्थपनइतर समूहले आफ्नो राष्ट्रिय सम्मेलनबाट पारित गरेको पाँचबुँदे निर्णयको एउटा बुँदाले पार्टीको वैचारिक दिशाबारे नयाँ बहस जन्माएको छ । लामो समयदेखि धर्मनिरपेक्षता, लोकतन्त्र र बहुलवादलाई आफ्नो राजनीतिक आधार बनाउँदै आएको कांग्रेसले यसपटक ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ प्रतिबद्धता व्यक्त गरेपछि कांग्रेस हिन्दु एजेन्डातर्फ उन्मुख हुन थालेको हो कि भन्ने प्रश्न उठेको छ ।

कांग्रेसको निर्णयमा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा व्याख्या गर्दै हिन्दु, बौद्ध, किराँत र प्रकृति धर्मको संरक्षण गर्ने दायित्वप्रति प्रतिबद्धता जनाइएको छ । साथै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्ने विषय पनि निर्णयमा समेटिएको छ ।

यो निर्णयले कांग्रेसले औपचारिक रूपमा हिन्दु राष्ट्रको एजेन्डा स्वीकार गरेको निष्कर्ष निकाल्न भने अझै मिल्दैन । तर, धर्मनिरपेक्ष गणतन्त्र स्थापनापछि कांग्रेसले पहिलोपटक यति स्पष्ट रूपमा ‘सनातन धर्म’ र ‘राष्ट्रिय पहिचान’लाई राजनीतिक दस्तावेजमै जोड्नु भने सामान्य विषय मात्र होइन । यसले पार्टीको आगामी राजनीतिक भाष्यमा धर्म र सांस्कृतिक पहिचानको विषयले पहिलेभन्दा बढी स्थान पाउने संकेत गरेको छ ।

नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरेको छ । कांग्रेस स्वयं संविधान निर्माण र त्यसको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेको दल हो । यस्तो पृष्ठभूमिमा कांग्रेसको राष्ट्रिय सम्मेलनबाट आएको ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ निर्णयलाई पार्टीको वैचारिक पुनर्संयोजनका रूपमा हेर्न थालिएको छ ।

तर, कांग्रेसको निर्णयले राज्यको धर्म परिवर्तन गर्नुपर्ने वा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने कुरा गरेको छैन । बरु हिन्दु, बौद्ध, किराँत र प्रकृति धर्मको संरक्षणसँगै धार्मिक स्वतन्त्रता र सहिष्णुताको कुरा गरिएको छ ।

यसकारण कांग्रेसको पछिल्लो निर्णयलाई तत्कालै ‘हिन्दु राष्ट्रको पक्षमा औपचारिक निर्णय’ भन्नुभन्दा सनातन सांस्कृतिक पहिचानलाई राजनीतिक एजेन्डाका रूपमा स्थापित गर्ने प्रयासका रूपमा बुझ्नु बढी उपयुक्त देखिन्छ ।

देउवाको अभिव्यक्तिले थप्यो राजनीतिक अर्थ

कांग्रेसको निर्णय सार्वजनिक भएको सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले यो बहसलाई थप बल दिएको छ । संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू हिन्दु भएको र आफूलाई हिन्दु हुँ भन्न पाउने अधिकार हुनुपर्ने बताएका थिए ।

देउवाको भनाइमा उनले आफू हिन्दु भएको स्वीकार गर्दै मुस्लिम, किराँतलगायत अन्य धार्मिक समुदायप्रति आफू विरोधी नरहेको स्पष्ट पारे । 

‘म हिन्दू हुँ । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन,’ उनले भने, ‘मैले आफू हिन्दू हो भन्न पाउनु पर्यो नि । हिन्दूमा विश्वास गर्न पाउनुपर्यो नि मैले । यसमा कुनै कन्फ्युजन नहोस् ।’

कांग्रेसको निर्णयमा सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोडिनु र पार्टीका प्रभावशाली नेता देउवाले सार्वजनिक रूपमा आफ्नो हिन्दु पहिचानलाई जोड दिनुले कांग्रेसभित्र धर्म र सांस्कृतिक पहिचानको मुद्दाले नयाँ राजनीतिक स्पेस खोजिरहेको संकेत गर्छ ।

कांग्रेसले किन उठायो यो विषय ?

यसको पछाडि नेपालको बदलिँदो राजनीतिक मनोविज्ञानलाई पनि हेर्नुपर्ने हुन्छ । पछिल्ला वर्षहरूमा परम्परागत दलहरूप्रति असन्तुष्टि बढ्दै जाँदा धार्मिक तथा सांस्कृतिक पहिचानको विषय राजनीतिक बहसको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । विशेषगरी हिन्दु राष्ट्रको पक्षमा उठ्ने आवाजलाई कांग्रेसले पूर्ण रूपमा बेवास्ता गर्दै आएको अवस्थामा पछिल्लो निर्णयलाई त्यसतर्फको राजनीतिक पुनर्विचारका रूपमा समेत बुझ्न सकिन्छ ।

कांग्रेसले सम्भवतः धार्मिक पहिचानलाई आफ्नो विपक्षी वा अन्य राजनीतिक शक्तिको मात्र एजेन्डा बन्न नदिने रणनीति लिन खोजेको हुन सक्छ । हिन्दु, बौद्ध, किराँत तथा प्रकृति धर्मको संरक्षणलाई एउटै बुँदामा समेटेर कांग्रेसले बहुसंख्यक हिन्दु समुदायको सांस्कृतिक भावनालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ ।

यसमा अर्को राजनीतिक गणित पनि हुन सक्छ । धर्मनिरपेक्षताको पक्षमा रहँदा परम्परागत धार्मिक–सांस्कृतिक मतदाताबाट टाढिएको आरोप खेप्दै आएको कांग्रेसले अब धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताबीच नयाँ राजनीतिक सन्तुलन खोज्न खोजेको हुन सक्छ ।

पाँचबुँदे निर्णयमा धर्म मात्रै छैन

कांग्रेसको पाँचबुँदे निर्णयलाई केवल धर्मको कोणबाट मात्र हेर्नु पनि अधुरो हुन्छ । निर्णयको पहिलो बुँदाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औं महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । दोस्रो बुँदाले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई वर्तमान परिस्थितिसँग जोड्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्तिसँग संवाद गर्ने उल्लेख गरेको छ ।

त्यस्तै चौथो बुँदाले संविधानमा जनअपेक्षाअनुसार संशोधनको सम्भावना खुला राखेको छ । यी विषयलाई एकै ठाउँमा राखेर हेर्दा कांग्रेसले संगठनात्मक निरन्तरता, राष्ट्रिय एकता, संवैधानिक पुनरावलोकन र सांस्कृतिक पहिचानलाई आगामी राजनीतिक बहसका प्रमुख आधार बनाउन खोजेको देखिन्छ ।

विशेषगरी संविधान संशोधनको विषय र सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने निर्णय एकैपटक आउनुले कांग्रेसले वर्तमान राजनीतिक व्यवस्थाका केही पक्षमाथि पुनर्विचार गर्नुपर्ने जनमतलाई पनि सम्बोधन गर्न खोजेको देखिन्छ । यद्यपि यी दुई विषयलाई प्रत्यक्ष रूपमा जोडेर कांग्रेस हिन्दु राष्ट्रको पक्षमा पुगेको निष्कर्ष निकाल्न अहिले नै पर्याप्त आधार छैन ।

यदि कांग्रेसले सनातन धर्मलाई नेपालको सांस्कृतिक इतिहास र बहुधार्मिक सहअस्तित्वको प्रतीकका रूपमा अघि बढाउँछ भने त्यो सांस्कृतिक पहिचानको राजनीति हुन सक्छ । तर, यही विषयलाई राज्यको धार्मिक स्वरूप परिवर्तन, हिन्दु राष्ट्रको स्थापना वा संविधानको धर्मनिरपेक्ष चरित्र हटाउने अभियानसँग जोडिन्छ भने त्यो हिन्दु राजनीतिक एजेन्डा बन्नेछ 

Share News