काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच मंगलबार (आज) भेटवार्ता भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अगाडिबाट दुईबीच शिष्टाचार भेटवार्ता सुरु भएको प्रधानमन्त्री प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।
उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी छन् ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका थिए ।
सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने परम्परा छ ।
सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो ।