रास्वपाको नयाँ प्रवक्ता जगदीश खरेल, को–कसले पाए जिम्मेवारी ?
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट उनलाई प्रवक्तामा नियु्क्त गरेको हो । त्यस्तै पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभागमा लिमा अधिकारीलाई मनोनीत भएका छन् । सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनीत भएका छन् ।
रास्वपाको केन्द्रीय सदस्यमा गृहमन्त्री सुधनगुरुङदेखि भूपदेव शाहसम्म मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनीत गरेको हो । केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई छन् । त्यस्तै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मनोनीत भएका छन् ।
शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री पोखरेल शुक्रबार धनगढी जाने
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालासँग शिक्षा ऐन र विद्यालय शिक्षा सुधारका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिनेछ । कार्यक्रममा सहभागी सरोकारवालाबाट आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषय, विद्यालय शिक्षामा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारका नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ ।