काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालासँग शिक्षा ऐन र विद्यालय शिक्षा सुधारका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिनेछ ।
कार्यक्रममा सहभागी सरोकारवालाबाट आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषय, विद्यालय शिक्षामा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारका नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ ।