उद्धार, उपचार र पुनर्वासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले सम्पूर्ण क्षति र प्रभावितको पूर्ण जिम्मेवारी लिने बताएका छन् ।  बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यो प्राकृतिक विपद्को अप्रत्याशित बज्रपातले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।  बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री बालेनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।  ‘तपाईंहरूको यो असैह्य पीडामा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौं,’ उनले भनेका छन् ।  साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ताहरूको खोजी गर्नु र प्रभावित नागरिकलाई सुरक्षा दिनु नै अहिले सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन् ।  प्रधानमन्त्री शाहले विपद् लगत्तै हजारौंको संख्यामा राज्यका सम्पूर्ण शक्ति र संयन्त्रहरू उद्धार कार्यमा परिचालन भइसकेको जानकारी दिएका छन ।  प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न; राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ ।’ उनले बाढी प्रभावितहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील समयमा सबैलाई एक ढिक्का भएर उभिन आह्वान समेत गरेका छन् । 

भोटेकोशी बाढी: क्षति संकलन जारी, उद्धार कोषमा सहयोग गर्न सरकारको आह्वान

काठमाडौं । बुधबार बिहान ८ः४० बजे रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।  बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखा लगायतका तटीय क्षेत्रहरू गम्भीर रूपमा प्रभावित बनेका छन् ।  घटनालगत्तै सरकारले प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत सामग्री वितरणको कार्यलाई तीव्रता दिएको छ भने बाढीबाट पुगेको मानवीय र भौतिक क्षतिको अन्तिम विवरण संकलन गर्ने काम निरन्तर जारी राखिएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने र दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने चुनौती छ ।  यसै सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका तोकिएका बैंक खाताहरूमा यथाशक्य आर्थिक सहयोग गरी हातेमालो गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण संघ-संस्था एवं नागरिकहरूमा अपिल गरेको छ ।

उद्धार र राहतमा जुट्न कांग्रेसको अपिल, समन्वय समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता भएकाहरूको हरसम्भव खोजी गर्न तथा जोखिममा परेका नेपाली नागरिक र विदेशी पर्यटकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएको हो । बैठकपछि महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकार, प्रतिपक्षी दल, संघ–संस्था, निजी क्षेत्र र नागरिक समुदाय एकजुट भएर उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने बताए ।  विपद् व्यवस्थापनमा सरकारले चाल्ने हरेक कदममा कांग्रेसको पूर्ण साथ र सहयोग रहने उनको भनाइ छ । पौडेलले पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई भ्रामक सूचना, मिथ्या प्रचार र अफवाहको पछि नलाग्न आग्रह गरे ।  उनले विपद्को समयमा आरोप–प्रत्यारोपमा नअल्झी उद्धार, राहत र व्यवस्थापनको काममा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन दिइएको बताए । कांग्रेसले बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ । रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा ती जिल्लाबाट केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरू सहभागी छन् ।  पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा समितिको सदस्य सचिव तोकिएका छन्। समितिले केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क स्थापना गरी प्रभावित क्षेत्रको अवस्थाबारे सूचना संकलन, उद्धार तथा राहतमा आवश्यक समन्वय गर्नेछ ।  कांग्रेसका तर्फबाट हुने सबै प्रकारका सहयोग समितिमार्फत परिचालन गरिने पौडेलले जानकारी दिए । बैठकले पार्टीका तर्फबाट एकमुष्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णयसमेत गरेको छ । राहत कोषमा जम्मा गरिने रकम भने कांग्रेसले खुलाएको छैन । कांग्रेसले पार्टीका पदाधिकारी तथा सम्पूर्ण पार्टी पंक्तिलाई तत्कालका लागि राजनीतिक गतिविधिभन्दा विपद् व्यवस्थापन, उद्धार, राहत र पुन: स्थापनाको काममा केन्द्रित हुन आग्रह गरेको छ ।