पति दुर्गासँगै प्रधानमन्त्री सुशीला कार्की पुगिन् गुण्डु, दिइन् ओलीलाई समवेदना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित निवास पुगेकी छन् । प्रधानमन्त्री कार्कीको साथमा उनका श्रीमान दुर्गा सुवेदी पनि ओली निवास पुगेका छन् । पितृशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गर्न प्रधानमन्त्री कार्की आइतबार गुण्डु पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । प्रधानमन्त्री कार्कीले ओलीसँग भेटेर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।
कांग्रेसका सबै पदाधिकारी संसद बाहिर
काठमाडौं । नयाँ प्रतिनिधिसभा गठनसँगै नेपाली कांग्रेसको संसदीय यात्रा असामान्य परिस्थितिमा पुगेको छ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसका कुनै पनि केन्द्रीय पदाधिकारी यसपटक प्रतिनिधिसभामा रहने छैनन् । सभापतिदेखि सहमहामन्त्रीसम्मका अधिकांश नेताहरू निर्वाचनमा पराजित भएका छन् । केहीले भने प्रतिस्पर्धामै भाग नलिएर संसदीय फोरमवाट पहिल्यै बाहिरिएका थिए । आगामी संसदमा कांग्रेसले अनुभवी संस्थागत नेतृत्वबिनै मुख्य विपक्षी दलको भूमिका निभाउनुपर्ने अवस्था बनेको छ । कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । पार्टीका प्रमुख नेता र सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चित उनी निर्वाचनमा पराजित भएपछि कांग्रेसको संसदीय नेतृत्व नै शून्यजस्तै बनेको छ । त्यस्तै, पार्टीका दुई उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल यसपटकको निर्वाचनमा प्रतिस्पर्धामै उत्रिएनन् । महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरे पनि निर्वाचनमा जनताको अनुमोदन प्राप्त गर्न असफल भएका छन् । पार्टी संगठन सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्ने यी दुई नेता पनि संसद बाहिर रहँदा कांग्रेसको संसदीय अनुभवमा थप कमी देखिएको छ । कांग्रेसका अधिकांश सहमहामन्त्रीहरूले पनि निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन् । सहमहामन्त्री फरमुल्लाह मन्सुर र डिला संग्रौला निर्वाचनमा पराजित भएका छन् । त्यस्तै, सहमहामन्त्री कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदय शमशेर राणा, प्रकाश रसाइली र मुक्ताकुमारी यादव पनि निर्वाचनमा पराजित भएका छन् । सहमहामन्त्री बहादुर सिंह लामा भने बागमती प्रदेशसभाका सदस्य हुन् । उनी प्रदेश राजनीतिमा सक्रिय भए पनि संघीय संसदमा कांग्रेसको नेतृत्व तहको प्रतिनिधित्व उनीबाट हुन सक्दैन ।
रास्वपाले गर्यो ४८ महिला र ९ पुरुषको नाम सिफारिस, आयोगको रुजुपछि मात्रै सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट चयन हुने ५७ जना सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको रास्वपाका कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् । उनका अनुसार तोकिएको समयसीमाभित्र आयोगमा नाम बुझाउने निर्णय गरिएको हो । यद्यपि आयोगमा पठाइएका नामहरू हाल प्रस्तावित सूची मात्रै भएकाले सार्वजनिक नगरिएको उनले बताइन् । ‘निर्वाचन आयोगले नाम रुजु नगरेसम्म ती नामहरू प्रस्तावित सूचीका रूपमा मात्रै रहन्छन्,’ अधिकारीले भनिन्, ‘रुजु प्रक्रिया पूरा भएपछि आयोगले नै औपचारिक रूपमा नाम सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले दलहरूले पठाएको सूचीलाई समानुपातिक समावेशी मापदण्डअनुसार रुजु गरेपछि मात्रै सांसदहरूको अन्तिम नामावली सार्वजनिक गर्ने प्रचलन रहेको छ ।