विपद् प्रभावित चार जिल्लालाई बागमती सरकारले ३ करोड रुपैयाँ दिने

काठमाडौं । बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् । मुख्यमन्त्री थापाका अनुसार रसुवाका चार पालिकालाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ छुट्याइएको छ ।  यस्तै, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए ।  विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको मुख्यमन्त्री थापाले बताए । उक्त रकम सम्बन्धित पालिकामार्फत मृतकका परिवारलाई उपलब्ध गराइने उनको भनाइ छ ।  मुख्यमन्त्री थापाले विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम सुरु गरिसकेको पनि जानकारी दिए ।  प्रदेश सरकारले राहत तथा पुनःस्थापनाका काम स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढाइरहेको मुख्यमन्त्री थापाको भनाइ छ ।  प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिने गरी तत्कालीन राहतका कामलाई प्राथमिकता दिइएको उनले बताए ।

विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाले डाक्यो भर्चुअल केन्द्रीय समिति बैठक

काठमाडौं । विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार (आज) बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थिति रहने गरी सूचना जारी गरिएको छ । पार्टीले दिएको जानकारीअनुसार बैठक आज आज अपरान्ह ४ः३० बजे बस्नेछ । बैठकका मुख्य कार्यसूचीमा पछिल्लो समय देखिएका बाढी, पहिरोलगायत विपद्का घटनाको सन्दर्भमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्ने विषय राखिएको छ ।  बैठकमा विपद्का बेला उद्धार, राहत, पुनःस्थापना तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल हुने बताइएको छ ।

आफन्तको अनुमतिबिनै शव व्यवस्थापन गरेको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछिको विपद् व्यवस्थापनका सन्दर्भमा चासो व्यक्त गरेको छ ।  पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको विषयप्रति गम्भीर आपत्ति जनाएका हुन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा बोल्दै नेता आङदेम्बेले शव व्यवस्थापनको संवेदनशीलतालाई ध्यान नदिइएको गुनासो आएको बताए ।  नेता आङदेम्बेले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको उल्लेख गरे ।  यस विषयमा आफूले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए ।  स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूसँगको समन्वय तथा सुझावका आधारमा नेता आङदेम्बेले प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाए ।  नेता आङ्देम्बेले भने, ‘शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिएको विषय पनि गम्भीर रूपमा उठेको छ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा फैलिएको दुर्गन्ध पनि हाम्रो लागि ठूलो चुनौती बनेको छ । मैले हिजो प्रधानमन्त्रीसँगको भेटपछि स्थानीय तहका नेता तथा सम्पर्कमा रहेका साथीहरूको सुझावका आधारमा ९ बुँदामा ध्यानाकर्षण गराएको छु । ती ९ बुँदा संक्षिप्त रूपमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’ विपद्पछिको राहत, पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि पार्टीले सरकारको ध्यान खिचेको उनको भनाइ छ ।