रास्वपाले स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया थाल्यो, ११ बजे सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया सुरु गर्ने भएको छ । पार्टीले आइतबार ११ बजेका लागि सचिवालय बैठक बोलाएको छ । सोही बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे छलफल हुनेछ । रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो । पार्टी प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा महाधिवेशन कार्यविधि २०८३ बारे पनि छलफल हुनेछ भने संसदीय दलको विधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।
राज्य आतंकको ‘पर्याय’ बन्नु हुँदैनः भीष्मराज आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मच्चाइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको ‘डोजर आतंक’का कारण मानिसको ज्यान समेत गएको बताएका छन् । उनले राज्य आतंकको पर्याय बन्न नहुनेमा जोड दिँदै अभिभावक जस्तो हुनुपर्ने बताए । उनले विद्यालयमा डोजर लगाउँदा त्यहाँ अध्ययनरत सयौं विद्यार्थी भविष्यबिहीन अवस्थामा पुगेको उल्लेख गरे । सरकारलाई मानवीय संवेदनशीलता अपनाउन उनले आग्रह समेत गरे । उनले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको बताए ।
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज (शनिबार) जारी गरेका हुन् । यसैगरी, राष्ट्रपति कार्यालयबाट १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो । त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो । यो सँगै राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् । यस्तो छ विज्ञप्ति :