काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ११ हजार ९९३ जनाको उद्धार गरिएको जानकारी दिएका छन् ।
बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीपछि उद्धार गरिएका व्यक्तिमध्ये ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको बताए ।
उनका अनुसार उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये हालसम्म १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
प्रधानमन्त्री शाहले भने, ‘११ हजार ९९३ जनाको उद्धार गरेका छौं । तर पनि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना भएका घाइतेमध्ये केही बेरअघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ ।’
उनले भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको जानकारी दिए ।
बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढी जानकारी दिँदै उनले सुरुङ उद्धार जारी रहेको बताएका छन् । ‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ,’ प्रधानमन्त्री शाहले भने ।
केही जलविद्युत् आयोजना सञ्चालन गर्न ठूलो खर्च लाग्ने देखिएको उनले बताए ।
अहिले शोक मनाउने समय होइन, खोज तथा उद्धार जारी छ : प्रधानमन्त्री शाह