मिडिया र नेताका घरमा सवारी तेर्साएर त्रास फैलाउनेलाई कारबाही गरियोस् : ठगुन्ना
काठमाडौं । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले मिडिया संस्था तथा राजनीतिक नेतृत्वका कार्यालय र निवास अगाडि सवारी साधन तेर्साएर मानसिक त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबार (आज) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो गतिविधि सामान्य देखिए पनि त्यसले विगतको राज्य आतंकको स्मरण गराउने खालको सन्देश दिएको बताए । ‘हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यालय तथा घर अगाडि सवारी साधन तेर्साएर मानसिक त्रास फैलाउने काम भयो। हेर्दा यो सानो र सांकेतिक घटना जस्तो देखिए पनि यसले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवाती झझल्को सम्झाइदिन्छ,’ उनले भने, ‘त्यसैले यस घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ ।’ ठगुन्नाले पछिल्लो समय राज्य संयन्त्र पूर्वाग्रह र प्रतिशोधको भावनाले परिचालित भएको आरोप पनि लगाए । पर्याप्त अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा अभियोजन चलाउनुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दर्ता गरेर पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान गर्ने प्रवृत्ति बढेको उनको टिप्पणी थियो । उनले श्रमजीवी वर्ग र बेरोजगार युवाप्रति सरकारको व्यवहार उचित नभएको उल्लेख गर्दै निष्पक्ष र कानुनसम्मत ढंगले राज्य संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अपनाएको व्यवहारप्रति समेत असन्तुष्टि जनाउँदै उनीहरूको समस्या समाधानमा संवेदनशील र मानवीय दृष्टिकोण अपनाउन आग्रह गरे।
संसदमा विपक्षीको अवरोध यथावत
काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गत जेठ १७ गते दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले पुनः विरोध गरेका हुन् । प्रधानमन्त्री बालेनले उक्त दिन नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड)बाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याएका छन् । माग पूरा नभएसम्म संसदको कारबाही सहज रूपमा अघि बढ्न नदिने अडान विपक्षी दलहरूको छ ।
आलोचनाबाट डराउने सरकार लोकतन्त्रका लागि खतरनाक : आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार आलोचनाबाट डराउन थालेको आरोप लगाएका छन् । उनले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भए पनि वर्तमान सरकार त्यसबाट विचलित हुन थालेको बताएका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले सरकारमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा प्रश्न गर्नेहरूलाई नै निशाना बनाउने प्रवृत्ति देखिएको टिप्पणी गरेका हुन् । ‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो। तर जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्तालाई नै निशाना बनाउन खोज्छ,’ उनले लेखेका छन् । आङ्देम्बेले विभिन्न सञ्चारगृह, नेपाली कांग्रेसका सभापति गगन थापाको निवास तथा अन्य केही स्थान अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई सरकारको असहिष्णु प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार गेटअगाडि सवारी राख्ने कार्य केवल आवतजावत अवरुद्ध गर्ने विषय नभई स्वतन्त्र प्रेस र प्रतिपक्षी नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने तथा आलोचनात्मक आवाजलाई तर्साउने प्रयास हो । ‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै होइन, आलोचनात्मक आवाज थुन्ने प्रयास पनि हो । यो स्वतन्त्र प्रेस र विपक्षी नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्यौ भने परिणाम भोग्नुपर्छ’ भन्ने सन्देश दिन खोजिएको कार्य हो,’ उनले उल्लेख गरेका छन् । सञ्चारमाध्यम र प्रतिपक्ष लोकतन्त्रका अपरिहार्य अंग भएको उल्लेख गर्दै उनले उनीहरूलाई सरकारको शत्रुका रूपमा हेर्न नहुने बताएका छन् । ‘सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु होइनन्, उनीहरू जनतासामु राज्यका गतिविधि देखाउने ऐना हुन् । ऐना फुटाउँदैमा अनुहार सुन्दर देखिँदैन,’ आङ्देम्बेको भनाइ छ । सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी, मुगुका गणेश नेपालीको मृत्यु तथा सर्लाहीका विवेक मण्डलको आत्मदाहजस्ता विषय उठाउँदै उनले जनताका यस्ता पीडाका बारेमा प्रश्न गर्ने सञ्चारमाध्यम र प्रतिपक्षको आवाज दबाएर समस्याको समाधान नहुने पनि बताएका छन् । ‘गाडीले गेट छेक्न सकिएला, तर जनताको आवाज छेक्न सकिँदैन। इतिहासले देखाएको छ– गेट बन्द गर्न सकिए पनि प्रश्नको बाटो बन्द गर्न सकिँदैन,’ उनले लेखेका छन् । गत सोमबार अज्ञात व्यक्तिहरूले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, नेपाली कांग्रेस सभापति गगन थापाको निवास तथा भाटभटेनी सुपरमार्केट अगाडि सवारीसाधन पार्क गरेका थिए । उक्त घटनापछि त्यसको उद्देश्यलाई लिएर राजनीतिक तथा सार्वजनिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन् ।