महाविपदमाथि छलफल गर्न भोलि प्रतिनिधिसभा बस्दै

काठमाडौं । तिब्बतबाट आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिका विषयमा छलफल गर्न प्रतिनिधिसभाको बैठक आह्वान भएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार भदौ १७ गते (बुधबार) मध्यान्ह १ बजे बैठक बस्नेछ ।

बैठकमा देशले भोगिरहेको महाविपद्का विषयमा सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ । उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले दलीय आधारमा धारणा राख्नेछन् ।

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण मानवीय क्षतिसँगै घर, सडक, पुल, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति भएको छ ।

विपद्पछिको उद्धार, राहत, पुनःस्थापना तथा प्रभावित नागरिकको अवस्थाबारे संसदमा राजनीतिक दलका नेताहरूले धारणा राख्ने अपेक्षा गरिएको छ । साथै विपद् व्यवस्थापनमा सरकारको तयारी, उद्धार तथा राहतको प्रभावकारिता र आगामी पुनर्निर्माणका विषयसमेत छलफलमा उठ्न सक्नेछन् ।

भदौ १० गते नै प्रतिनिधिसभाको बैठक बसेको थियो। सोही बैठकपछि प्रतिनिधिसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, भोटेकोशी र त्रिशूलीमा आएको बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै संसद्को बैठक पुनः बोलाइएको हो ।

Share News