काठमाडौं । राष्ट्रियसभाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको तत्काल उद्धार, राहत र निःशुल्क उपचारलाई प्राथमिकता दिन सरकारलाई निर्देशनात्मक ध्यानाकर्षण गराएको छ ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकले अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको रसुवा बाढीसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सभाले श्रद्धाञ्जली अर्पण गरेको छ । घटनामा शोकमा रहेका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदाय र सम्बन्धित राष्ट्रप्रति समेत राष्ट्रिय सभाले दुःख व्यक्त गरेको छ ।
विशेष प्रस्तावमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई तत्काल प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । बाढीमा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन आग्रह गरिएको छ ।
त्यस्तै, बाढीमा मृत्यु भएकाहरूको शव पहिचान तथा व्यवस्थापन वैज्ञानिक र व्यवस्थित ढंगले गर्न सरकारलाई आग्रह गरिएको छ ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायतका संरचनाको पुनर्निर्माणलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न पनि प्रस्तावमार्फत आग्रह गरिएको छ ।
राष्ट्रियसभाले विपद्पछिको उद्धार, राहत र पुनःस्थापनामा स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत सहयोग र सहकार्यका लागि अपिलसमेत गरेको छ ।
विशेष प्रस्तावमा तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र भौतिक संरचनाको दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।