प्रतिनिधिसभाको बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

विशेष प्रस्तावमार्फत सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्ने कार्यक्रम छ । सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको यो बैठक भदौ १० गते बुधबार भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ ।’

प्रस्तावमा बाढीबाट घरबार विहीन भएकाहरूको व्यवस्थापन तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

साथै, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ ।

बिहान ९:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, अपरान्ह १२:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

Share News