जलवायु विपत्तिको मुद्दा उठाउन प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्रीको सविचालयले जनाएको छ । महासभामा उनले नेपालले पछिल्लो समय भोग्दै आएको जलवायुजन्य विपत्ति र त्यसबाट परेको मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । प्रधानमन्त्री शाह असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ । उनी केही दिनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई महासभामा पठाउने तयारी थियो ।  तर रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको पछिल्लो अवस्था अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु उपयुक्त हुने भन्दै सरकारभित्र छलफल अघि बढाइएको थियो । प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा उनका सचिवालयका चार सदस्य, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्रसचिव अमृतबहादुर राईसहितका अधिकारी सहभागी हुने बताइएको छ । महासभामा प्रधानमन्त्री शाहले नेपालजस्ता हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेका समस्या, प्राकृतिक विपत्तिबाट भइरहेको क्षति तथा जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा राख्ने तयारी गरेका छन् ।

विपत्तिको सामना गर्न एकजुट बनौं : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको अवस्थामा  सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । सोमबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सबैलाई एकताबद्ध भई उभिन आह्वान गरेका हुन् । आजै राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा गएका थिए । भ्रमणपश्चात उनले राष्ट्रका नामा सम्बोधन गरेका हुन् । उनले सबै राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर विपत्तिको सामना गर्न आह्वान गरे । राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत तथा पुनस्र्थापनाका लागि राज्यका सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । विपत्तिबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै उनले संकटको समयमा सबैको साझा प्रयासबाट मात्रै ठूलो क्षति न्यूनीकरण गर्न सकिने बताए ।

गृहमन्त्री गुरुङको पहलमा चुमनुब्री-४ मा बाढीपीडितका लागि राहत पठाइँदै

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४, नाम्रुङमा बाढी तथा पहिरोबाट ठूलो भौतिक क्षति भएपछि गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा तत्काल राहत पठाउन पहल गरेका छन् ।  आफ्नै निर्वाचन क्षेत्रसमेत रहेको नाम्रुङमा बाढीबाट भएको क्षतिको विवरण लिएपछि गृहमन्त्री गुरुङले नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी प्रभावित नागरिकका लागि राहत सामग्री पठाउने व्यवस्था मिलाएका हुन् ।  नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी तथा पहिरोका कारण घर तथा होटलहरूमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर क्षतिग्रस्त भएका छन् भने उर्गेन चेतन होटल र नुर्बु वाङ्गल होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।  यस्तै, चाराङ खोलामा आएको बाढीले बुढीगण्डकी पुल तथा जोलुङ्गे पुल नजिक रहेको जगत होटल पूर्ण रूपमा बगाएको छ । छेवाङ दोर्जेको घरसमेत अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ । बुढीगण्डकी खोलामाथिको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मनास्लु ट्रेकिङ रुटको पदमार्गसमेत बन्द भएको छ । बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने सरकारी तथा निजी दुवै विद्युत् प्रणालीमा क्षति पुगेको छ । चाराङ लेकमा युदोन ग्याल्तेन र दावा ताशी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आए पनि उनीहरूसँग सम्पर्क भइसकेको र दुवै जना सुरक्षित रहेको जनाइएको छ । हालसम्म मानवीय क्षति भएको छैन । प्रारम्भिक विवरणअनुसार चाराङ खोला क्षेत्रमा मात्रै बाढी तथा नदी कटानका कारण ६ वटा घर प्रभावित तथा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ ।