छुट्टै बैठक बोलाउने तयारीमा देउवा पक्ष, होटलमा के भयो छलफल ?
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउन शेरबहादुर देउवा पक्ष सक्रिय बनेको छ । देउवा पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठकको तयारी गरिरहेको बुझिएको छ । आइतबार (आज) धुम्बाराहीस्थित एक होटलमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरेको हो । निवर्तमान कार्यसमितिका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न विभिन्न तरिकाले छलफल भइरहेको छ । ‘ती छलफलहरुले आवश्यक ठाने केन्द्रीय समिति बैठक पनि बोलाउन सकिन्छ,’ डा. महतले भने । उनका अनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । आवश्यकताका आधारमा बैठकको मिति, समय र स्थानबारे शीर्ष नेताहरूसँगको परामर्शपछि तय गरिनेछ । पार्टीभित्र जारी विवादका कारण नेतृत्व संरचना अझै स्पष्ट हुन नसकेको अवस्थामा देउवा समूहले आन्तरिक छलफललाई अघि बढाउन खोजेको देखिन्छ । गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए पनि सो प्रक्रिया अस्वीकार गर्दै देउवा पक्ष अदालत पुगेको छ । उक्त विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले चैत्र २२ गते पेशी तोकेको छ । अदालतको निर्णय नआएसम्म औपचारिक रूपमा कुनै ठोस कदम चाल्न नहुने निष्कर्षमा नेताहरु पुगेका छन् । विशेष महाधिवेशनअघि तत्कालीन सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए । अहिले सोही व्यवस्थाअनुसार पार्टीका नियमित गतिविधि सञ्चालन भइरहेका छन् । अदालतको फैसला अनुसार के गर्ने भनेर तयारी र छलफल चलिरहेको डा. महतले बताए ।
बहुमतसहित रास्वपा सरकार गठनको अन्तिम तयारीमा, बालेन्द्र प्रधानमन्त्री बन्ने लगभग निश्चित
काठमाडौं । आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भएसँगै मुलुकको राजनीतिक ध्यान सरकार गठनतर्फ केन्द्रित भएको छ । स्पष्ट बहुमतसहित सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको तयारी तीव्र पारेको हो । दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेकाले १३ गते सरकार गठनका लागि औपचारिक दाबी प्रस्तुत गर्ने तयारी भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । यससँगै दलभित्र संसदीय दलको नेता चयन, मन्त्रिपरिषद् गठनको ढाँचा र सरकारका प्राथमिकता निर्धारणजस्ता विषयमा आन्तरिक छलफल तीव्र बनेको उनले बताए । पार्टीभित्रको सहमतिअनुसार संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन हुने लगभग निश्चित देखिएसँगै उनी प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेतासहितको टिम मन्त्रीहरूको नामावलीलाई अन्तिमस्वरूप दिन बैठकमा बसिरहेका छन् । बुर्लाकोटीले ११ देखि १६ सदस्यीय मन्त्रिपरिषदको तयारी रहेको जानकारी दिए । संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दलका नेताले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्न पाउने व्यवस्था छ । सोही प्रावधानअनुसार रास्वपाले आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको बुर्लाकोटीले बताए । यसबीचमा सम्भावित मन्त्रिपरिषद् गठनबारे पनि विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् । रास्वपाले स्वच्छ छवि भएका र कार्यक्षमता देखाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्दै नयाँ अनुहारसहितको मन्त्रिपरिषद् बनाउने दावी गर्दै आएको छ। पार्टीभित्र टेक्नोक्र्याट र युवा नेतृत्वलाई अवसर दिने विषयमा पनि छलफल भइरहेको नेताहरूले बताएका छन् । समावेशितालाई ध्यानमा राख्दै महिला, मधेशी, आदिवासी जनजाति तथा पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि एजेण्डामा रहेको महामन्त्री बुर्लाकोटीको दाबी छ ।
सभापति थापाको राजीनामाबारे कांग्रेसले आज निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन कुमार थापाको राजीनामाबारे आइतबार (आज) औपचारिक निर्णय गर्ने भएको छ । पार्टी मुख्यालय सानेपामा जारी बैठकले आज राजीनामा स्वीकृत गर्ने वा नगर्ने बारे औपचारिक निर्णय गर्ने भएको हो । गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा र गगनको राजीनामाबारे सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । सभापति थापाले पार्टीले प्रतिनिधिसभा निर्वाचनमा बेहोर्नु परेको क्षतिको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।