कांग्रेसले सार्वजनिक गर्यो १५ औं महाधिवेशनको परिमार्जित कार्यतालिका

काठमाडौं । नेपाली कांग्रसले असोज ३ गतेबाट वडातहको निर्वाचन गर्नेगरी १५औं महाधिवेशनको परिमार्जित कार्यतालिका सार्वजनिक गरेको छ ।  मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते देश भरका ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन गर्ने भएको हो । यसअघि भदौ २४ गते वडा अधिवेशन तोकिएको थियो । यस्तै, गाउँ-नगरपालिका अधिवेशन असोज ७ गतेका लागि तोकिएको छ भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गतेका लागि  तोकिएको छ।  केन्द्रीय अधिवेशन भने पहिले तोकिएको मिति असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

‘जेनजी आन्दोलनको माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैन’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्ने बताएका छन् । जेनजी सहिद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले अब गोली चलाउने हिम्मत कसैको नभएको बताएका हुन् ।  सहिद परिवार, घाइते तथा जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । उनले  सहिद परिवार र घाइतेलाई सरकारले माग पूरा नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रहसमेत गरे ।  गृहमन्त्री गुरुङले जनताले आफूलाई दिएको जिम्मेवारी इमानदारीताका साथ पूरा गर्ने दाबी गरे । मन्त्रीको पद र शक्ति आफ्नो लागी सामान्य भएको उनको भनाइ छ । आफूमा सत्ताको लोभ वा घमण्ड कहिल्यै नआउने पनि उनले दाबी गरे । वर्तमान सरकारले भाषणभन्दा कामलाई प्राथमिकता दिएको उनले बताए ।  हरेक दिन मन्त्रालय प्रवेश गर्दा आफूले जिम्मेवारी पूरा गर्न सक्ने कि नसक्ने भन्ने आफूमा डर रहने गरेको उनले जिकिर गरे ।  सुरक्षाकर्मीको मनोबल बढाउने, जेन–जी पुस्ताको सपना साकार पार्ने र नेपाली नागरिकको आशा पूरा गर्ने जिम्मेवारी आफूहरूमाथि रहेको उनको भनाइ छ ।  जेनजी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्छ गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्ने बताए । उनले भने, ‘शहीदका परिवारले पनि कतिचोटी भन्नुहुन्छ हाम्रो माग पूरा हुँदैन कि क्या हो भनेर भन्नुहुन्छ । सम्पूर्ण घाइतेहरू, शहीद परिवारहरूलाई र सम्पूर्ण जेन–जी युवा पुस्ताहरूलाई के भन्न चाहन्छु भने हाम्रो माग पूरा नहुन अर्को एउटा देशमा गोली चल्नुपर्छ ।’ सहिद परिवार, घाइते तथा जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।  उनले सहिद परिवार र घाइतेलाई सरकारले माग पूरा नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रह गरे ।

कांग्रेसको १५औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् । ‘राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा पत्र पठाएर प्रदर्शनी हल, पार्किङ स्थल र बगैंचा बुकिङको प्रक्रिया थालेका हौं,’ दुलालले भने ।  कांग्रेस महाधिवेशन असोज १६ देखि १९ गतेसम्म चल्नेछ । कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन गर्नेगरी यसअघि कार्यतालिका ल्याएको थियो ।  वडा अधिवेशनको  मिति सार्न आज सानेपामा निर्वाचन समितिको बैठक चलिरहेको छ । कांग्रेसले पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन कार्यतालिकालाई सोही अवधिमा गर्नेगरी तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गर्न लागेको हो । गत पुसमा कांग्रेसले विशेष महाधिवेशन भृकुटीमण्डपबाट सम्पन्न गरेको थियो ।