प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री शाह संयुक्त राष्ट्र सङ्घको ८१औं महासभामा भाग लिन अमेरिका जान लागेका हुन् । भ्रमण असोज ६ देखि १० गतेसम्म हुने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उद्योगमन्त्री बन्दै दीपक साह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुने भएका छन् ।  गौरीकुमारी यादवले राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई उद्योगमन्त्री नियुक्त गर्न लागेका हुन्। उनी गत वर्षको निर्वाचनमा सुनसरी- ४ बाट निर्वाचित भएका थिए । साहलाई आजै शपथ ग्रहण गराउने तयारीसमेत भइरहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । उनको शपथ साढे ५ बजे हुने स्रोतले बताएको छ ।

रास्वपा महामन्त्री भन्छन्– सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुनःनिर्माण हुने कसरी पत्याउने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक केन्द्रहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढाए पनि सरकारी संरचनाको पुनर्निर्माण भने सुस्त रहेको बताए । उनले राज्यका प्रमुख संरचनाहरूको पुनर्निर्माण अझै प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सिंहदरबार र संसद् भवनलगायतका संरचना हालसम्म पनि जस्ताकोतस्तै रहेको उल्लेख गरे । आचार्यले निजी क्षेत्रको पुनर्निर्माणप्रतिको उत्साहको प्रशंसा गर्दै सरकारी संरचनाको अवस्थाप्रति भने असन्तुष्टि जनाए । उनले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ । तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु ।’ आफूले नयाँ संसद् हलमा बजेट प्रस्तुत हुने सुने पनि अहिले पनि अस्थायी भवनबाटै प्रतिनिधिसभामा आफ्ना कुरा राख्नुपरेको उनले बताए । ‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे । आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रहसमेत गरे । ‘के–के नीतिगत र व्यावहारिक कमजोरीहरू छन्, त्यो पत्ता लगाऔँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाऔं, बिफोर इट्स टु लेट,’ उनले भने ।