शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छ । बुधबार (आज) अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । चौतर्फी विरोध भएसँगै सरकारले समता शुल्क खारेज गरेको हो । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । शुल्क लागू भएपछि विभिन्न क्षेत्रबाट व्यापक गुनासो आएपछि सरकारले त्यसबारे पुनर्विचार थालेको थियो । यसैक्रममा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबीच शुल्कको विषयमा लामो छलफल भएको थियो । त्यसपछि मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले समता शुल्क हटाउने प्रक्रिया अघि बढाइने घोषणा गरेका थिए । आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा दफा १८ को उपदफा (१) बमोजिम पूर्ण छुट दिने निर्णय गरिएको हो ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बुधबार (आज) अपरान्ह ३ बजे बस्नेगरी बोलाइएको बैठक ढिलागरी सुरु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।
संस्थापन इतरले मनायो वीपी स्मृति दिवस, तीन नेताले गरे उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार ४३औँ वीपी स्मृति दिवसका अवसरमा राजधानीमा विशेष स्मृति सभा आयोजना गर्दै पार्टीभित्र संवाद, सहमति र एकताको आवश्यकता औंल्याएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा समूहका शीर्ष नेताहरू निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनपछि तीनै नेताले वीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, राष्ट्रिय मेलमिलाप र समाज रूपान्तरणको सन्देशलाई प्रतीकात्मक रूपमा स्मरण गर्दै बिरुवामा पानी समेत हालेका थिए । यस वर्षको स्मृति सभा संवाद, सहमति र एकता आजको आवश्यकता भन्ने मूल नारासहित आयोजना गरिएको कांग्रेस नेताहरूले बताएका छन् । कार्यक्रममा कांग्रेसका नेताकार्यकर्ता, पूर्वपदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको छ ।