प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई आगामी २४ सेप्टेम्बरमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री शाहले महासभामा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको महासभा सम्बोधनको मिति सार्वजनिक गरेका हुन् । उनका अनुसार प्रधानमन्त्रीले २४ सेप्टेम्बर अर्थात् नेपाली पात्रोअनुसार ८ असोजमा महासभालाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाह महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन् ।  महासभाका क्रममा उनले नेपालको समसामयिक अवस्था, सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको भ्रमणसँगै महासभाका क्रममा विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एमाले पुनर्गठन कार्यदलको बैठकमा बाँडियो प्रतिवेदन, अध्ययनपछि शनिबार फेरि बस्ने

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको शुक्रबार बसेको बैठक प्रतिवेदनमाथि छलफल नगरी सकिएको छ ।  कार्यदलले तयार पारेको प्रतिवेदन सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेर बैठक टुंग्याइएको हो । कार्यदलका एक नेताका अनुसार प्रतिवेदन अध्ययन गरी शनिबार साँझ बस्ने बैठकमा आफ्ना धारणा र सुझाव प्रस्तुत गर्ने गरी सबै सदस्यलाई प्रतिवेदन उपलब्ध गराइएको छ । शुक्रबारको बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने तयारी भए पनि सदस्यहरूले अध्ययन गरेपछि मात्रै विषयवस्तुमा प्रवेश गर्ने निष्कर्षसहित बैठक सकिएको हो ।  शनिबारको बैठकमा प्रतिवेदनका मुख्य विषय, निर्वाचन परिणामको समीक्षा तथा पार्टी पुनर्गठनका प्रस्तावमाथि विस्तृत छलफल हुने बताइएको छ । एमालेले पछिल्लो निर्वाचनको परिणाम र त्यसबाट प्राप्त राजनीतिक सन्देशको समीक्षा गर्दै पार्टीको वैचारिक, राजनीतिक तथा संगठनात्मक पुनर्गठनका लागि कार्यदल गठन गरेको हो ।  शनिबार साँझ बस्ने बैठकमा सदस्यहरूको सुझाव र छलफलका आधारमा प्रतिवेदनलाई आवश्यक परिमार्जन गरी अन्तिम रूप दिने तयारी छ ।

महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न कांग्रेसका २५ नेताको अपिल

काठमाडौं । नेपाली कांग्रेसका २५ जना नेताहरूले महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न अपिल जारी गरेका छन् ।  गगनकुमार थापा नेतृत्वको संस्थापन कांग्रेस र पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीमा लागेपछि उनीहरूले एकताको प्रयास गरेका हुन् ।  २५ नेताले जारी गरेको अपिलमा दुवै महाधिवेशन कार्यतालिका हाललाई स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरिएको छ  ।  कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ ।  निवर्तमान सभापति देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तय गरिसकेको छ ।  जसअनुसार दुबै पक्षले देशभर प्रतिनिधि समेत खटाइसकेको छ ।