काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको शुक्रबार बसेको बैठक प्रतिवेदनमाथि छलफल नगरी सकिएको छ ।
कार्यदलले तयार पारेको प्रतिवेदन सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेर बैठक टुंग्याइएको हो ।
कार्यदलका एक नेताका अनुसार प्रतिवेदन अध्ययन गरी शनिबार साँझ बस्ने बैठकमा आफ्ना धारणा र सुझाव प्रस्तुत गर्ने गरी सबै सदस्यलाई प्रतिवेदन उपलब्ध गराइएको छ ।
शुक्रबारको बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने तयारी भए पनि सदस्यहरूले अध्ययन गरेपछि मात्रै विषयवस्तुमा प्रवेश गर्ने निष्कर्षसहित बैठक सकिएको हो ।
शनिबारको बैठकमा प्रतिवेदनका मुख्य विषय, निर्वाचन परिणामको समीक्षा तथा पार्टी पुनर्गठनका प्रस्तावमाथि विस्तृत छलफल हुने बताइएको छ ।
एमालेले पछिल्लो निर्वाचनको परिणाम र त्यसबाट प्राप्त राजनीतिक सन्देशको समीक्षा गर्दै पार्टीको वैचारिक, राजनीतिक तथा संगठनात्मक पुनर्गठनका लागि कार्यदल गठन गरेको हो ।
शनिबार साँझ बस्ने बैठकमा सदस्यहरूको सुझाव र छलफलका आधारमा प्रतिवेदनलाई आवश्यक परिमार्जन गरी अन्तिम रूप दिने तयारी छ ।