कांग्रेसमा सुधार ल्याउन महाधिवेशन एक घण्टा पनि सार्दिनँ : सभापति गगन थापा

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएकै मितिभन्दा एक घण्टा पनि तलमाथि नहुने स्पष्ट पारेका छन् । 

गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै सम्पूर्ण नेता-कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गरे ।

सभापति थापाले  महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको र सबै पक्ष सहभागी हुने विश्वास व्यक्त गरे ।  

अलमलमा परेका सबैलाई जोड्ने प्रयास निरन्तर जारी रहने उनले प्रतिबद्धता पनि जनाए । 

पार्टीभित्रका विकृति र विसङ्गतिविरुद्ध निर्मम बन्न तथा आन्तरिक एकताका लागि भने नरम र लचिलो हुन आफूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाटै सिकेको स्मरण गर्दै थापाले पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै सम्झौता नगर्ने अडान दोहोर्याए । 

आगामी महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत अभियान लिएर देशका गाउँगाउँ पुग्ने उद्घोषसमेत उनले गरे ।

सभापति थापाले नेपालको आधुनिक अर्थतन्त्र र निजी क्षेत्रको विकासमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका ऐतिहासिक र निर्णायक रहेको बताए ।

नेपालमा निजी क्षेत्रबाट उद्योगधन्दा र ठूला व्यवसाय सञ्चालन गर्न पाउने खुला आर्थिक नीतिको जग कोइरालाले नै बसालेको भन्दै थापाले त्यो निर्णयकै कारण आज देशमा लाखौं उद्योगी–व्यवसायी जन्मिने बाटो खुलेको धारणा राखे ।

‘सबै उद्योग र व्यापार सरकारले मात्रै चलाउनुपर्छ भन्ने पुरातन मान्यताले राज्यलाई आर्थिक घाटामा मात्र अल्मल्याउने र निजी क्षेत्रको विशाल व्यावसायिक सम्भावनालाई कुण्ठित बनाउने थियो,’उनले भने । 

सभापति थापाले कोइरालाकै नीतिका कारण नेपाली अर्थतन्त्रले फराकिलो रूप लिन सकेको स्पष्ट पारे । 

खुला बजार अर्थतन्त्र, लोकतन्त्रको सुदृढीकरण र समावेशी समृद्धिका लागि कोइरालाले देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको सभापति थापाको भनाइ थियो । 

कार्यक्रममा फाउन्डेसनको नेतृत्व नेतृ सुजाता कोइरालाले नेता डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी थिइन् ।

Share News