कांग्रेसको १५ औं महाधिवेशन असोज १६ गतेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असोज ३ र ४ गते वडा अधिवेशन गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । 

असोज १६ गते दिउँसो १ बजे काठमाडौंको खुल्ला मञ्चमा महाधिवेशनको उदघाटन सत्र प्रारम्भ हुनेछ । बैठकले महाधिवेशनलाई पार्टीको राजनीतिक महाउत्सवका रूपमा लिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकहरूलाई तहगत अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको छ ।

यसका साथै विधान बमोजिम जिम्मेवारी पूरा नगर्ने निकायका हकमा वैकल्पिक व्यवस्था गरिने चेतावनी दिँदै निर्वाचन समितिसँग समन्वय गरी अधिवेशन सफल पार्न सबै तहका कार्यसमितिलाई निर्देशनसमेत दिएको छ ।

पार्टीभित्र व्यापक सहभागिता, संवाद र सहमति कायम गर्न अद्यावधिक हुन छुटेका सदस्यहरू (कारबाहीमा परेका र पार्टी परित्याग गरेका बाहेक) लाई पनि महाधिवेशन प्रक्रियामा समावेश गराइने निर्णय गरिएको छ ।

महाधिवेशनलाई सर्वस्वीकार्य र समावेशी बनाउन विशेष केन्द्रीय महाधिवेशनपूर्वका तत्कालीन केन्द्रीय सदस्यहरूलाई विधान बमोजिम केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउने प्रबन्ध मिलाइएको छ ।

यसैबीच, महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले तयार पारेको क्रियाशील सदस्यहरूको नामावलीलाई सभापति थापाले स्वीकृत गरे । 

बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले दिएको राजीनामाबारे जानकारी गराइनुका साथै विभिन्न सहमहामन्त्री तथा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । 

Share News