काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने दावी गरेका छन् ।
मंगलबार ललितपुरमा आयोजित सहिद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफूहरूलाई जनताले दुई तिहाईको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारे।
उनले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताए ।
गृहमन्त्रीले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबीसमेत गरे ।
उनले भने, ‘नेपाली जनताले दुई तिहाई बहुमत दिएर जाऊ काम गर भनेर हामीलाई दिएको विश्वास हो । राजीनामा पनि दिन सकिँदैन । हामीलाई नेपाली जनताले जिताएको हो त्यही भएर हजुरका आशीर्वाद लिएर हामी तपाईंहरुको सेवामा आएका छौं । तपाईंहरुलाई राजनीति गरेर राज गर्न आएका होइनौं हामी, हामी सेवा गर्न आएका हौं ।’
गृहमन्त्री गुरुङले आगामी दिनमा सम्पूर्ण गृह प्रशासनलाई जनताको सेवामा पूर्ण रूपले परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।