काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद मिलाउन चाहेपनि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद हुन नसकेको बताएका छन् ।
सभापति थापाले आफूले देउवाको सचिवालयमार्फत ४ पटक भेटको समय माग्दा पनि नदिएको विषय केन्द्रीय समिति बैठकमा उठाएका हुन् ।
‘सभापतिज्यूले पार्टी एकताका लागि पटक-पटक पूर्वसभापतिको सचिवालयमा समय माग्दा पनि भेटको अवस्था नबनेको कुरा बैठकमा सुनाउनुभएको हो,’ सहमहामन्त्रीसमेत रहेका एक पदाधिकारीले विकासन्यूजलाई बताए ।
सभापति थापाको नेतृत्वमा केन्द्रीय समिति बैठक यही भदौ २१ र २२ गते पार्टीको केन्द्रीय कार्यालय बीपी भवन सानेपामा चलेको थियो ।
बैठकमा गगनको भनाइ उद्धृत गर्दै ती सहमहामन्त्रीले भने, ‘शेरबहादुर दाइले भेटघाटको लागि समेत समय दिनुभएन । मैले चार पटक भानु देउवासँग कुरा गर्दा पनि समय पाइनँ ।’
सभापति थापाले बैठकमा पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्का र शीर्ष नेता डा.शेखर कोइरालासँग वार्ता सकारात्मक भएको जानकारी गराएका थिए ।
नेता खड्का र डा.कोइरालासँगको भेटमा सदस्यता अद्यावधिक नगरेकालाई पनि महाधिवेशनमा सहभागी हुन पाउने गरी निणर्य भएको उनले बताएका थिए ।
यस्तै, नेता कोइदलाको नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गर्न छुट्टै संयन्त्र खडा गर्न समेत आफू तयार भएको बारे समेत थापाले प्रष्ट पारेका थिए ।
थापाको असन्तुष्टिमा पूर्वसभापति देउवाको स्वकीय सचिव भानु देउवालाई विकासन्यूजले प्रश्न गर्दा उनी भन्छन्, ‘उहाँहरूको भेटको वातावरण बन्छ ।’
यसबाहेक लामो प्रतिक्रिया दिन भने उनले चाहेनन् ।
यस्तै, १४ औं महाधिवेशन कार्यसमिति सदस्य समेत रहेका इतर समुहका एक नेता नाम उल्लेख नगर्ने सर्तमा नेता खड्का र कोइरालाले सभापति थापासँग गरेको वार्ता बारे पूर्वसभापतिलिाई औपचारीक जानकारी नै नगराउँदा समस्या भएको बताउँछन् ।
‘पूर्व सभापतिले सबैको सल्लाह मिलेपछिको अन्तिम निर्णयमा मात्रै छलफल गर्छु भन्नेसम्मको सूचना छ,’ उनले भने ।