काठमाडौं । नेकपा एमालेले हालैको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनाका लागि कुल १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
एमालेले विपदबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
पार्टीले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
एमालेले विपद्को समयमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने र प्रभावित क्षेत्रमा राहत सामग्री तथा आवश्यक सेवाको पहुँच तत्काल पुर्याउनुपर्नेमा जोड दिएको छ ।
पार्टीले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि समेत दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ ।