काठमाडौं । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ । साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैं साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन् ।
प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाए ।
“बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले थपे, “यो दुःखमा नेपाल एक्लै छैन । चीन नेपाल र नेपाली जनताको साथमा छ ।”
साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताए । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे ।
यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे ।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए ।
राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए ।
आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ ।
रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उहाँले अर्थमन्त्रीलाई अवगत गराए ।
त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए ।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए ।