काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता भएकाहरूको हरसम्भव खोजी गर्न तथा जोखिममा परेका नेपाली नागरिक र विदेशी पर्यटकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकपछि महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकार, प्रतिपक्षी दल, संघ–संस्था, निजी क्षेत्र र नागरिक समुदाय एकजुट भएर उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने बताए ।
विपद् व्यवस्थापनमा सरकारले चाल्ने हरेक कदममा कांग्रेसको पूर्ण साथ र सहयोग रहने उनको भनाइ छ ।
पौडेलले पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई भ्रामक सूचना, मिथ्या प्रचार र अफवाहको पछि नलाग्न आग्रह गरे ।
उनले विपद्को समयमा आरोप–प्रत्यारोपमा नअल्झी उद्धार, राहत र व्यवस्थापनको काममा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन दिइएको बताए ।
कांग्रेसले बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ ।
रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा ती जिल्लाबाट केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरू सहभागी छन् ।
पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा समितिको सदस्य सचिव तोकिएका छन्।
समितिले केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क स्थापना गरी प्रभावित क्षेत्रको अवस्थाबारे सूचना संकलन, उद्धार तथा राहतमा आवश्यक समन्वय गर्नेछ ।
कांग्रेसका तर्फबाट हुने सबै प्रकारका सहयोग समितिमार्फत परिचालन गरिने पौडेलले जानकारी दिए ।
बैठकले पार्टीका तर्फबाट एकमुष्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णयसमेत गरेको छ । राहत कोषमा जम्मा गरिने रकम भने कांग्रेसले खुलाएको छैन ।
कांग्रेसले पार्टीका पदाधिकारी तथा सम्पूर्ण पार्टी पंक्तिलाई तत्कालका लागि राजनीतिक गतिविधिभन्दा विपद् व्यवस्थापन, उद्धार, राहत र पुन: स्थापनाको काममा केन्द्रित हुन आग्रह गरेको छ ।