अर्थमन्त्रीको दाबी - सरकारले सय दिनमा अभूतपूर्व काम गरेको छ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकिएका कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रम फत्ते गर्नु आफैँमा अभूतपूर्व उपलब्धि भएको तर्क गरे । उनले विधेयकलगायतका विषय सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचेअनुसार अघि बढ्न नसकेको स्पष्टिकरण पनि दिए । अर्थ मन्त्रालयले भने सय बुँदामध्ये आफ्नो जिम्मेवारीमा परेका सबै काम फत्ते गरेको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले भने, 'सय दिनको प्रसंग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकें– सरकारको आन्तरिक मूल्याङ्कनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रम फत्ते भएका छन् । यो आफैँमा अभूतपूर्व हो । आफैले मापदण्ड, एकदमै जटिल मापदण्ड तोकेर त्यसैमा खरो उत्रन सरकारले इमान्दार रूपमा प्रयास गरिरहेको छ । केही कामहरू निरन्तर छन् ।'

अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचनअघि जनतासामु गरेका बाचाअनुसार नै काम गरिरहेको पनि बताए ।

Share News