गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छु : डा. शशांक कोईराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन् । संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताए । उनले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताए । कोइरालाले कांग्रेसभित्र पछिल्लो समय बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए । उनले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गरे । पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए । वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उनको भनाई छ । उनले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए। विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उनको भनाई छ । उनले दुबै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिए । उनले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गरे । कांग्रेसभित्र सहमति हुने दाबी गर्दै उनले कहिले र कसरी मिल्ने भन्ने चाँही अहिले नै भन्न नसकिने बताए । उनले भने, ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरु के चाहिने ? हामी बीच लाइनमा छौं, हामी मिलाएर जान्छौं । भविष्य हेर्दै जानुहोला मिल्छ । अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ ।’ उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके कांग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गरे । उनले पार्टीभित्रका वरिष्ठ नेताहरूलाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गरे ।
प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको कार्यशैली, सरकारका निर्णय तथा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने माग गरेपछि सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन् । सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदहरूले उठाएका जिज्ञासा सम्बोधन गर्न निर्देशन दिएका छन् । उनले प्रतिनिधिसभाप्रति सरकार जवाफदेही हुनुपर्ने संवैधानिक तथा संसदीय व्यवस्थाअनुसार प्रधानमन्त्रीको उपस्थितिलाई महत्त्वपूर्ण रहेको स्पष्ट गरेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने कार्यसूची छ । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन् । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले छलफल गरेपछि उठेका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन्। त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार जोगाउन मुख्यमन्त्री आचार्यलाई कम्तीमा ४२ सदस्यको समर्थन आवश्यक छ। कांग्रेसको समर्थन फिर्तापछि उत्पन्न राजनीतिक समीकरणबीच मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाउने प्रयास तीव्र पारेका छन् । विश्वासको मत लिनुअघि आइतबार राति एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, नेकपाका प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ तथा पूर्वमुख्यमन्त्री एवं संसदीय दलका नेता जोखबहादुर महरासहितका नेताहरूले मुख्यमन्त्री आचार्यसँग छलफल गरेका थिए । छलफलमा साना दल तथा स्वतन्त्र सांसदहरूको समर्थन जुटाउने र विश्वासको मतपछि सरकार सञ्चालनलाई प्रभावकारी बनाउने रणनीतिबारे छलफल भएको थियो । नेताहरूले मुख्यमन्त्री आचार्यलाई आवश्यक समर्थन जुटाउन केन्द्रित भएर अघि बढ्न निर्देशन दिएका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने दाबी गर्दै आएका छन् । यद्यपि, कांग्रेसको समर्थन फिर्तापछि प्रदेशमा बनेको नयाँ राजनीतिक समीकरणका कारण आजको मतदानलाई सरकारको भविष्य निर्धारण गर्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । विश्वासको मतसम्बन्धी प्रस्ताव पारित भए आचार्य नेतृत्वको सरकार तत्काल कायम रहनेछ । प्रस्ताव असफल भए भने लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।