कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे। त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए । ‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ । अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने । उनले कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्नुपर्ने बताए। राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध पनि आफूहरू कांग्रेससँगै मिलेर अघि बढेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए । ‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ। अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ ।’ पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था रहेको भन्दै उनले यसलाई ‘स्वेच्छाचारी शासन’को संज्ञा दिए । उनले कांग्रेसले आगामी दिनमा यस विषयलाई लिएर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । पोखरेलले युवाहरूलाई निराश हुन दिन नहुने बताए। युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने। उनले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई उठाउँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि व्यक्त गरे। सूचना प्रविधिको क्षेत्रमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
लिङ्देनको टिप्पणी : ‘राजनीतिका पात्र फेरिए, प्रवृत्ति फेरिएन’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा पात्र परिवर्तन भए पनि राजनीतिक प्रवृत्ति भने परिवर्तन हुन नसकेको बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले मुलुकको समस्या कुनै व्यक्ति विशेषमा नभई राजनीतिक व्यवस्थामै रहेको दाबी गरे । ‘राजनीतिका पात्र फेरिए, तर प्रवृत्ति फेरिएन,’ उनले भने, ‘समस्या व्यक्तिमा होइन, व्यवस्थामा छ ।’ लिङ्देनले विगतमा विपक्षीमाथि गोली चलाउने प्रवृत्ति रहेको उल्लेख गर्दै अहिले त्यसको स्वरूप फेरिएको टिप्पणी गरे । उनले अहिले गोलीभन्दा पनि खतरनाक ढंगले गोली चल्ने अवस्था देखिएको बताए । ‘हिजो विपक्षमा गोली चल्थ्यो, अहिले गोलीभन्दा खतरा गोली चल्ने गरेको छ,’ उनले भने । राप्रपा अध्यक्ष लिङ्देनको उक्त टिप्पणी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ लक्षित थियो । उनले नयाँ राजनीतिक शक्ति र नेतृत्वको उदय भए पनि पुरानै राजनीतिक प्रवृत्ति दोहोरिन थालेको संकेत गरे । लिङ्देनले व्यक्ति परिवर्तनलाई मात्रै राजनीतिक परिवर्तनका रूपमा बुझ्न नहुने बताए । उनका अनुसार राजनीतिक प्रणाली र त्यसले निर्माण गर्ने संस्थागत संरचनामा परिवर्तन नगरेसम्म पात्र फेरिए पनि राजनीतिक कार्यशैली र प्रवृत्तिमा अपेक्षित सुधार आउन नसक्ने अवस्था रहन्छ ।
देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौं : भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पु‍र्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताएका हुन् । मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए । ‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?,’ उनले भने । उनले देश विकासका लागि साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘त्यसको एउटा योजना बनाऔं । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने । भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा पनि जोड दिए । ‘अब पाठ सिकौं । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने ।