कांग्रेसको पन्ध्रौं महाधिवेशन रोक्न सर्वोच्चमा पूरक रिट

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा देखिएको छ । पार्टीमा विशेष महाधिवेशन पक्षले अघि बढाएको १५औं महाधिवेशनको तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेसँगै पार्टीको विवाद सतहमा आएको हो । निवेदनमा रिटमार्फत विवाद समाधान नभएसम्म नयाँ कार्यतालिका कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ । निवेदक पक्षले पार्टीको आधिकारिकता, विधानअनुसारको प्रक्रिया र महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै अदालतको हस्तक्षेप माग गरेको जनाएको छ । कांग्रेसभित्र संस्थापन र असन्तुष्ट समूहबीच लामो समयदेखि जारी शक्ति संघर्षले महाधिवेशनको प्रक्रिया प्रभावित हुँदै आएको छ । पछिल्लो कदमसँगै आन्तरिक कचिंगल फेरि चर्किने संकेत देखिएको छ । वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार यो नयाँ रिट नभएर पुरानै रिटको पूरक निवेदन हो । ‘निवेदक पक्षले निवेदन दिएको हामीले पेसीसूची हेरेर थाहा पायौं । तर हामीलाई सूचना आएको छैन,’ उनले भने । विशेष महाधिवेशन पक्षको नेतृत्वलाई कानुनी परामर्श दिइरहेको खनालले जानकारी दिए ।  निवेदक समूहले छुट्टै रिट नदिई यसअघि दर्ता भएको मुद्दामै पूरक निवेदन पेश गरेको उनले बताए ।  सो निवेदनमाथि कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुने तय भएको खनालले जानकारी दिए ।

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडाै‌ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका विषयमा मुख्य रूपमा छलफल हुने बुर्लाकोटीले जारी गरेको प्रेष विज्ञप्तीमा भनिएको छ । आजै हुने उपसभामुख निर्वाचनका लागि रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ । उक्त पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन् । बैठकमा समसामयिक राजनीतिक विषयहरूमाथि समेत छलफल हुने जनाइएको छ । साथै, रास्वपाले अझै मुख्य सचेतक र सचेतक नियुक्त नगरेको विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने बुझिएको छ ।

व्यक्तिगत हितभन्दा जनताको खुसी ठूलो हो : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  नेपाल नगरपालिका संघको ३३औं स्थापना दिवसको अवसरमा  बिहीबार आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए ।  सभामुख अर्यालले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए  ।  स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।