नेपाल-भारत द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका हुनै सक्दैन : भारत
काठमाडौं । भारतले नेपाल र भारतबीचको द्विपक्षीय तथा सीमासम्बन्धी मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ । नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जैशवालले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्ति र त्यसपछि विकसित घटनाक्रमतर्फ लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सम्बन्धित सबै पक्षले भारत र नेपालबीचको द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका हुँदैन भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने बताए । ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका हुँदैन । सीमा सम्बन्धी सबै पक्षहरू समाधान गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौं,’ उनले भने । प्रवक्ता जैशवालले नेपाल र भारतबीचको करिब ९८ प्रतिशत सीमांकनको काम सम्पन्न भइसकेको जानकारी दिँदै केही खण्डहरू मात्र समाधान हुन बाँकी रहेको जानकारी दिए । उनका अनुसार मुख्यगरी गण्डक नदीको बहावको दिशा परिवर्तन भएका कारण सीमाका केही भागमा यस्तो प्राविधिक अवस्था उत्पन्न भएको हो । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारत–नेपाल सीमासम्बन्धी गरेको टिप्पणी र सो विषयमा नेपालको परराष्ट्र मन्त्रालयले पछि जारी गरेको स्पष्टीकरण वक्तव्यलाई आफूहरूले नजिकबाट हेरेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ । यता नेपालमा भने प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको तथ्यगत आधार र प्रमाण सार्वजनिक गर्न माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । प्रधानमन्त्रीको भनाइ राष्ट्रिय महत्त्वको विषयसँग सम्बन्धित भएकाले त्यसबारे संसद्मा स्पष्ट जानकारी र प्रमाण प्रस्तुत गरिनुपर्ने विपक्षी दलहरूको अडान छ । उनीहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे सरकारको आधिकारिक र औपचारिक धारणा के हो भनी स्पष्ट जवाफसमेत माग गरेका छन् ।
वीरगन्जका मेयर सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी
काठमाडौं । जिल्ला अदालत, पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार आज सिंहसँग ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । अदालतका अनुसार लिखित कीर्तेसम्बन्धी कसुरको मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको हो । आज पक्राउ परेका उनलाई आजै अदालतमा पेश गरिएको थियो । धरौटी रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन्। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई आज बिहान पक्राउ गरेको हो । झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा उनी पक्राउ परेका हुन् । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको हो । गत १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिंहमाथि अर्काकी छोरीलाई आफ्नो छोरीका रूपमा देखाएर नक्कली हस्ताक्षरका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी बनाएको आरोप छ । यही विषयमा दर्ता भएको उजुरीका आधारमा अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गर्दै लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको लिखत सम्बन्धी कसुर मुद्दामा नगरप्रमुख सिंहसहित तीन जनालाई सात दिनभित्र खोजतलास गरी अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो ।
कांग्रेसको अनुशासन समितिको बैठक जेठ २१ गते बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरद्वारा जारी सूचनाअनुसार बैठक बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा आयोजना गरिनेछ । बैठकमा सहभागी हुन केन्द्रीय अनुशासन समितिका सबै सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । समितिको बैठकमा समसामयिक संगठनात्मक तथा अनुशासनसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।