कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे । 

त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए ।

‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौं । त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौं । अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ । यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने ।

उनले कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्नुपर्ने बताए । 

राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध पनि आफूहरू कांग्रेससँगै मिलेर अघि बढेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए ।

‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौं । अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौं ।’

पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको आरोप लगाए । प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था रहेको भन्दै उनले यसलाई ‘स्वेच्छाचारी शासन’को संज्ञा दिए ।

उनले कांग्रेसले आगामी दिनमा यस विषयलाई लिएर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पोखरेलले युवाहरूलाई निराश हुन दिन नहुने बताए । युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
 
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने ।

उनले कांग्रेसको १५औं महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई उठाउँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि व्यक्त गरे । सूचना प्रविधिको क्षेत्रमा कांग्रेस र एमालेले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

Share News