काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।
बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने कार्यसूची छ । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन् ।
प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले छलफल गरेपछि उठेका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन्। त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार जोगाउन मुख्यमन्त्री आचार्यलाई कम्तीमा ४२ सदस्यको समर्थन आवश्यक छ। कांग्रेसको समर्थन फिर्तापछि उत्पन्न राजनीतिक समीकरणबीच मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाउने प्रयास तीव्र पारेका छन् ।
विश्वासको मत लिनुअघि आइतबार राति एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, नेकपाका प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ तथा पूर्वमुख्यमन्त्री एवं संसदीय दलका नेता जोखबहादुर महरासहितका नेताहरूले मुख्यमन्त्री आचार्यसँग छलफल गरेका थिए ।
छलफलमा साना दल तथा स्वतन्त्र सांसदहरूको समर्थन जुटाउने र विश्वासको मतपछि सरकार सञ्चालनलाई प्रभावकारी बनाउने रणनीतिबारे छलफल भएको थियो । नेताहरूले मुख्यमन्त्री आचार्यलाई आवश्यक समर्थन जुटाउन केन्द्रित भएर अघि बढ्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने दाबी गर्दै आएका छन् । यद्यपि, कांग्रेसको समर्थन फिर्तापछि प्रदेशमा बनेको नयाँ राजनीतिक समीकरणका कारण आजको मतदानलाई सरकारको भविष्य निर्धारण गर्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
विश्वासको मतसम्बन्धी प्रस्ताव पारित भए आचार्य नेतृत्वको सरकार तत्काल कायम रहनेछ । प्रस्ताव असफल भए भने लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।