किसानलाई चीज बनाउन सिकाउँदै गल्याङ नगरपालिका
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चीज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चीज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चीजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रमअन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चीज’ उत्पादनसम्बन्धी सीप प्रदान गरिएको पशु विकास शाखा प्रमुख सुशील अर्यालले बताए । नेपाली बजारमा चीजको माग उच्च रहेकाले बजारको समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएकाले किसानलाई नयाँ परिकार उत्पादन गर्नेतर्फ अभिप्रेरित गरिएको उनले बताए । ‘अमेरिकाबाट आएका विशेषज्ञसँगै यहाँका किसानले सीप सिकिरहेका छन्’, उनले भने, ‘स्वादका हिसाबले गुणस्तरीयतामा जोड दिएका छौँ, गुणस्तरीय उत्पादन गरेपछि बजारीकरणको समस्या हुँदैन ।’ गल्याङ–९ गेझास्थित मुरली एग्रोफर्म प्रालिमा अमेरिकाबाट आएका चीज विशेषज्ञमार्फत सीप सिकाइएको हो । दूध उत्पादन गर्दै आएको मुरली एग्रोफर्ममा आवद्ध चार जना किसानसहित स्थानीय १५ जना दुग्ध उत्पादक किसानले सीप सिकेका छन् । चीज गाउँ ठाउँकै लागि नयाँ र नौलो भएकाले पनि यहाँका दुग्ध उत्पादक आकर्षित भएका छन् । ‘दूध उत्पादन गर्दै आएका छौँ, हाम्रो फर्मको उद्देश्य नै यहाँको दूध यहीँ खपत गर्नुपर्छ भन्ने हो’, मुरली एग्रोफर्मका सञ्चालक कुसुम भण्डारीले भने, ‘हाम्रो उद्देश्य अनुरुपकै कार्यक्रम नगरपालिकाले यहाँ सञ्चालन गरिदियो हामी निक्कै खुसी छौँ ।’ गाईपालनसम्बन्धी तरिकासहित चीज बनाउनका लागि निक्कै उत्साहित भएर यहाँका किसान लागेको सञ्चालक भण्डारीको छ । दूधबाट भन्दा पनि चीजबाट मूल्य धेरै पाइने, बजारको समस्या नहुने, नयाँ र नौलो परिकार बनाउने सीप पाएपछि व्यवसाय थप प्रभावकारी हुने उनको दाबी छ । उपभोगसँग मात्रै रमाएको पुस्तालाई उत्पादनसँग जोड्नका लागि नगरपालिका निरन्तर अगाडि बढेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । घर–घरको आर्थिक विकास नहुँदासम्म पालिकाको समृद्धि सम्भव नहुने उनको बुझाइ छ । ‘गल्याङ नगरपालिका कृषि र पशुपालनमा सम्भावना बोकेको र ग्रामीण भेग भएको ठाउँ हो’, उनले भने, ‘यहाँ जे जे कुराको सम्भावना हुन्छ, यहाँको हावापानी, भूगोलकै आधारमा सम्भावनाको खोजी गरी अगाडि बढ्दै छौँ ।’ युवाशक्ति विदेश पलायन भइरहेको अवस्थामा उनीहरूलाई यहीँ रोक्दै युवा पुस्तालाई उत्पादनसँग जोड्दै आर्थिकस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ । नगरपालिकाले यहाँका सम्भावनाको खोजी गर्नुका साथै उत्पादन, बजारीकरण, उचित मूल्य प्राप्तिका लागि पहल गर्ने नीति तथा योजनासहित अगाडि बढेको दाबी उनको छ । चीज विशेषगरी होटल तथा रेष्टुरेन्टमा पिज्जामा प्रयोग गर्नका लागि माग हुने गरेको छ । रासस
बन्दीपुर गाउँपालिकाले दियो १८ विद्यालयलाई कम्प्युटर
तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छ वटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । शैक्षिक गुणस्तरका आधारमा दण्ड तथा पुरस्कारको नीति अवलम्बन गरेको सो गाउँपालिकाले जनाएको छ । पालिकाका सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति लिइएको छ । ‘एक विद्यालय, एक विज्ञान प्रयोगशाला’ विकासको अवधारणाअनुरुप क्रमशः सबै विद्यालयमा विस्तार गर्दै लैजाने कार्यलाई पनि निरन्तरता दिइएको उनले बताए । गाउँपालिकाले सामुदायिक विद्यालयलाई अपाङ्गतामैत्री, आधारभूत खानेपानी तथा शौचालययुक्त र शिक्षा सिकाइलाई सहयोग पुग्ने सुरक्षित पूर्वाधार विकासमा जोड दिँदै आएको छ । गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको संरक्षण र संवद्र्धनका लागि गाउँपालिकामा मर्मतसम्भार कोषको स्थापना गर्ने योजना बनाएको छ । आधारभूत तहसम्मको शिक्षालाई प्रवद्र्धन गरी विपन्न, कमजोर तथा पिछाडिएका वर्गका बालबालिकालाई विद्यालय पहुँचमा पु¥याउन विपन्न लक्षित कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्र रहेका गरिब तथा जेहेन्दार कक्षा १२ उत्तीर्ण गरेका छजना विद्यार्थीलाई वार्षिकरूपमा छात्रावृत्ति प्रदान गर्ने नीति अवलम्बन गरिएको छ । प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । शैक्षिक सुधारका लागि एकाइ परीक्षाको नीति लिएर अघि बढिएको गाउँपालिकाले जनाएको छ । रासस
कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याक्नेलाई ५ हजार जरिवाना
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित उत्तर–दक्षिण कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने भएको छ । ढुङ्गेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने डिभिजन वन कार्यालयले जनाएको छ । पछिल्लो समय मानिसले खाँदबारी–तुम्लिङटार सडकखण्ड छेउमा फोहर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न सूचना टाँस गरिएको छ । डिभिजन वन कार्यालय र मनकामना सामुदायिक वन उपभोक्ता समूहले संयुक्तरूपमा बोर्ड टाँसेर सूचना जारी गरेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रलाल राईले बताए । खाँदबारी बजारलगायतका मानिसले लुकिछिपी रातको समयमा ट्रयाक्टर र गाडीमा फोहर ल्याएर सडक छेउमा फ्याँक्ने गरेको स्थानीयको भनाइ छ । राजमार्ग आसपासको फोहर फ्याँक्ने क्षेत्रमा सार्वजनिक सूचना नै टाँस गरेर सचेत गराइएको हो । वन क्षेत्रमा कसैले अटेर गरेर फोहर फ्याँकेमा वन र वातावरणसम्बन्धी ऐन–नियमअनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ । रासस