स्मार्ट कृषि: कृषकलाई बाख्रापालनमा सघाउँदै

रामपुर । बाख्रापालन व्यावसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न बालीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित छ । बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमबाट उत्पादन वृद्धि गर्नुका साथै कृषकको जीवनस्तर उकास्ने र संस्थागत विकास हुने भएकाले कार्यक्रम प्रभावकारी देखिएको भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा चन्द्रबहादुर राना बताउँछन् । उनी भन्नछन्, ‘बजारमा खसी बोकाको माग बढ्दो छ, यसबाट कृषकले राम्रो आयस्रोत लिन सक्ने भएकाले स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत बाख्रापालनमा कृषकले जोड दिएका छन्, जिल्लामा उत्पादकत्व वृद्धि भइरहेको छ’ । उनका अनुसार यस आर्थिक वर्षमा चार पालिकामा सञ्चालन भइरहेको सो कार्यक्रमका लागि कार्यालयले एक करोड १४ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । यसभन्दा अघि तानसेन नगरपालिकाको अर्गलीमा चार वर्षसम्म चलेको बाख्रापालन कार्यक्रम अहिले सहकारीकरण गरी कार्यालयले हस्तान्तरण गरेको छ । यहाँ राम्रै हँुदै गएपछि कार्यालयले अन्य पालिकामा पनि बाख्रापालनका कार्यक्रम अघि सारेको छ । पूर्वखोला गाउँपालिका–२ स्थित जल्पा र बगनासकाली गाउँपालिका–१ र २ मा चौथो वर्षमा स्मार्ट कृषि गाउँ कार्यक्रम चलिरहेको छ भने निस्दी र रैनादेवी छहरामा तेस्रो वर्षमा कार्यक्रम अगाडि बढेको छ । यो कार्यक्रम सम्झौता भएपछि चार वर्षसम्म कार्यालयको सहयोगमा चल्नेछ । पाँचौँ वर्षमा सहकारीकरण गरी हस्तान्तरण गरिनेछ । कार्यक्रम सुरु भएको पहिलो वर्ष कार्यालयले ८० प्रतिशत र सम्बन्धित समूह तथा संस्थाले २० प्रतिशत, दोस्रो वर्ष कार्यालयबाट ७० प्रतिशत र सम्बन्धित समूह, संस्थाले ३० प्रतिशत, तेस्रो वर्षमा कार्यालयले ६० र समूह, संस्थाले ४० प्रतिशत र चौथो वर्षमा कार्यालय र सम्बन्धित समूह र संस्थाले ५०/५० प्रतिशत रकम लगानी गरेर कार्यक्रम सञ्चालन गरिनेछ । सम्बन्धित समूह तथा संस्थाले स्थानीय सरकारसँग या संस्था आफँैले रकम व्यवस्थापन गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान छ । बाख्रापालनको हकमा प्रत्येक कृषकले कम्तीमा १० माउ बाख्रा पालेको हुनुपर्नेछ भने तरकारी तथा खाद्यान्न बालीमा कार्यक्रममा आवद्ध सबै कृषकको गरी एकमुष्ठ० कम्तीमा पाँच हेक्टर क्षेत्रफलमा खेती गरेको हुनुपर्ने जनाइएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत निस्दी गाउँपालिका–३ को झिरुवास, मौरीया, धार्केसिङ, ढाब्रा र डुनडाँडा क्षेत्रमा गरी ६० घरपरिवारका कृषकले एक हजार ४७५ बाख्रापालन गरेका छन् । कार्यक्रम शुरु भएपछि हालसम्म यहाँ प्रतिकृषक एक/एकवटा बाख्रा माउ बाख्रा वितरण गरिएको छ । संस्थाका लागि २४ उन्नत बोयर बोका, सातवटा चापकटर मेसिन, सातवटा ग्रेण्डर मेसिन, छ वटा फाइवरको डिटिङ्ग ट्याङ्क, सबै घरधुरीमा उन्नत घाँसको बीउ वितरण तथा गाउँमा एकवटा घाँसको नर्सरी स्थापना गरिएको निस्दीका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङ्गीले बताउँछन् । बाख्रापालनसम्बन्धी चेतनामुलक चारवटा तालिम, औषधि वितरणकार्य भएको छ । ‘गाउँमा यस कार्यक्रमले बाख्रापालनमा कृषकको आकर्षण बढ्दै गएको छ, अहिले उत्पादन वृद्धि हुँदै जादा उत्पादित खसीबोका बजारीकरण सम्बन्धमा छलफल चलिरहेको छ’ उनी भन्छन्, ‘यहाँ सञ्चालन भएको कार्यक्रममा आवद्ध कृषकले कम्तिमा १४ देखि बढीमा ५५ सम्म माउ बाख्रापालन गरेका छन् भने सबैका घरमा आधुनिक खोर बनेका छन्’ । बगनासकाली गाउँपालिका–१ र २ मा बाख्रापालनमा ईच्छुक कृषकलाई लक्षित गरी माडी चक्रपथ स्मार्ट कृषि गाउँ कार्यक्रम तेस्रो वर्षमा अगाडि बढेको छ । यहाँ ५० घरपरिवार आवद्धमध्ये ४५ घरमा बाख्रापालन र पाँच घरमा माछापालन गरिएको समितिका अध्यक्ष मथुरा ढकालले बताए । उनका अनुसार ६१ बाख्राबाट शुरु भएको कार्यक्रम अहिले ४८२ माउ, खसी, बोका, पाठापाठी छन् । समितिले ४५० माउ बाख्रा पु¥याउने लक्ष्य छ । ‘यस कार्यक्रमले बाख्रापालन व्यावसायमा कृषकलाई आकर्षण गरेको छ, थोरै बाख्रापालन गर्नेले अहिले सङ्ख्या बढाउँदै जानुभएको छ, विभिन्न सेवा सुबिधा पाइदो रहेछ’  रुपैयाँ रकम सहयोग भएको थियो । यसवर्ष भने समिति आफैँले रकम व्यवस्थापन गरेर कार्यक्रम गर्ने अध्यक्ष ढकालले बताए । यस समितिले कार्यक्रम शुरु भएपछि ७९ वटा खसी बोका विक्री गरेर आठ लाख ११ हजार रुपैयाँ बराबरको आम्दानी गरिसकेको छ । भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको लागि सात करोड छ लाख ५३ हजार रुपैयाँ बराबरको कार्यक्रम गर्नेछ । जसअन्तर्गत चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार रुपैयाँ, पशुपक्षी पर्यटन प्रवद्र्धनमार्फत आयआर्जन सहयोगमा दुई लाख रुपैयाँ, बङ्गुरपालन कार्यक्रमको लागि १० लाख रुपैयाँ, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख रुपैयाँ, ग्रामीण क्षेत्रमा कुखुरापालनमा १० लाख रुपैयाँ, डेरी तथा मासु पसल सुधारमा आठ लाख रुपैयाँ, अनुगमन मूल्याङ्कनमा ७५ हजार रुपैयाँ, स्मार्ट कृषि कार्यक्रममा एक करोड १४ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । यस्तै मत्स्य विकास कार्यक्रमको लागि पाँच लाख ९५ हजार रुपैयाँ, कृषि तथा पशुपक्षी श्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमको लागि एक करोड ८६ लाख दुई हजार रुपैयाँ, पशुपक्षी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमको लागि ३३ लाख ८० हजार रुपैयाँ र गाईका व्यवसायिक उत्पादन केन्द्र ब्लक कार्यक्रम सङ्घीय सरकारमार्फत ३३ लाख रुपैयाँ बराबरको वजेट रहेको छ । कार्यालयले चालु आर्थिक वर्षमा कृषकसँग कृषि मन्त्री कार्यक्रमको लागि सात लाख ५० हजार रुपैयाँ, तिनाउ गाउँपालिकामा बङ्गुर श्रोत केन्द्र स्थापनाको लागि, चार लाख रुपैयाँ, तानसेन र माथागढीमा बाख्रा र बङ्गुरको ब्रिडर हर्ड स्थापनाको लागि आठ लाख रुपैयाँ, मागमा आधारित व्यवसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रमको लागि ३० लाख रुपैयाँ, पशु बाँझोपन निवारण सेवाको लागि छ लाख रुपैयाँ, पशुस्वास्थ्य तथा उपचार खोप सेवाको लागि छ लाख रुपैयाँ, प्रयोगशाला सेवाको लागि चार लाख रुपैयाँ, पशु स्वास्थ्य शिविरको लागि दुई लाख ५० हजार रुपैयाँ, सामुदायिक प्रजनन् केन्द्र स्थापनातर्फ पाँच लाख रुपैयाँ वजेट रहेको कार्यालले जनाएको छ । माछापालनको लागि नयाँ पोखरी निर्माण गर्न पाँच लाख रुपैयाँ, तानसेन नगरपालिका–७ मा गौशाला निर्माण गर्नका निम्ति १० लाख रुपैयाँ, बगनासकाली गाउँपालिका–८ बराङ्दीमा गाईंभैंसी प्रवद्र्धनको लागि १० लाख रुपैयाँ, पशुपक्षीका रोग नियन्त्रण गर्न खोप अभियान कार्यक्रमका लागि २० लाख रुपैयाँ बराबरको वजेटका कार्यक्रम कार्यालयबाट सञ्चालन हुने कार्यालयका पशु प्राविधिक युवराज ज्ञवाली बताउँछन् । रासस

अब वीर अस्पतालले घर बहाल कर महानगरलाई तिर्ने

काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई  बुझाउँदै आएको थियो । जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो । हाल महानगरले लामो समयदेखि कर नतिरेका करदाताहरुलाई ताकेत गर्दै आएको छ ।

भरतपुर महानगरमा बजार अनुगमन

भरतपुर । चाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमन थालेको हो । मङ्गलबार नारायणगढ क्षेत्र र बुधबार भरतपुरको बसपार्क क्षेत्रमा अनुगमन गरिएको छ । महानगरको नियमित कार्यक्रमअनुसार नै बजार अनुगमन गरिएको महानगरका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । मङ्गलबार उनकै नेतृत्वमा बजार अनुगमन गरिएको थियो । ‘हामीले दैनिक नियमित कार्यतालिकाअनुसार बजार अनुगमन गरेका छौँ’, कार्यवाहक नगरप्रमुख अधिकारीले भने, ‘एकपटकलाई सजग गराएर सुध्रिने मौका दिएका छौँ, अर्कोपटक आउँदा फेरि पनि यस्तै गल्ती दोहोरिएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुन्छ ।’ बुधबार भरतपुरको केन्द्रीय बसपार्कमा रहेका पसलको अनुगमन गरियो । भरतपुर–९ केन्द्रीय बसपार्कमा रहेको न्यू सन्तोष हेयर कटिङ शैलुन, ज्योति कस्मेटिक एण्ड गिफ्ट सेन्टर, सिजन जनरल स्टोर्स, रचना किराना पसल, आर्जन स्टोर्स, बन्धु भेट फर्मा, विके फेन्सी एण्ड कस्मेटिक, सङ्कल्प फेसन कलेक्सन, एसके फेसन कलेक्सन, पशुपति दूध डेरी, रश्मी मासु पसल, लक्ष्मी प्रोभिजनल, गुरुङ मासु पसल, रोशनी फ्रेस हाउस र अपार कास्की स्टोर्स एण्ड दूध डेरी पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा दर्ता नवीकरण, बिलबिजक अद्यावधिक र सरसफाइमा ध्यान दिन व्यवसायीलाई सचेत गराइएको छ । यस्तै म्याद गुज्रेका सामान नष्ट र सम्बन्धित कम्पनीलाई फिर्ता गर्न निर्देशन दिइएको भरतपुर महानगर उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार एकाइ प्रमुख थानेश्वर सापकोटाले जानकारी दिए । उनले दुई दिनको अनुगमनका क्रममा गत वर्षभन्दा सुधार गरेको पाइएको बताए । ‘अधिकांश पसलले मूल्यसूची राखेको पाइयो, सरसफाइमा पनि तुलनात्मक सुधार भएको छ’, उनले भने । गत वर्ष माछा, मासु र खाद्य पदार्थ नष्ट नै गर्नुपरेको भन्दै उनले यस वर्ष त्यति धेरै समस्या नभेटिएको बताए । बुधबार महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख श्यामराज देवकोटाको नेतृत्वमा गरिएको अनुगमनमा महानगरपालिकाका सरोकारवाला निकायको सहभागिता रहेको थियो । मङ्गलबारको अनुगमनका क्रममा मासुमा अखाद्य रङ, आलु प्याजका बोरामा तौल कम, समयावधि सकिएको चामलका बोरा, बिनादर्ता पसल सञ्चालन, तिलको तेलमा मिसावट, बेकरी घिउमा अखाद्य वस्तु मिसाइएको भेटिएको थियो । अनुगमन टोलीले भरतपुर–२ बालकुमारी सब्जी मन्डीमा मुखिया मिट सप्लायर्स, राजकपुर श्रेष्ठको माछा पसल र नेपाल मिट सप्लायर्समा अनुगमन गरेको हो । यस्तै भरतपुर–३ को आलु मन्डीमा पनि टोलीले विभिन्न पसलमा अनुगमन तथा निरीक्षण गरेको थियो । साइराम सब्जी भण्डार, जगदम्बा आलु स्टोर्स, राजलक्ष्मी आलु स्टोर्स र न्यू पशुपति भण्डार तथा भरतपुर–३ आन्नद मार्गमा रहेको मन्जुश्री ट्रेडर्समा पनि अनुगमन गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बजार अनुगमनलाई थप कडाइका साथ प्रभावकारी बनाएर लैजानुपर्ने बताए । उनले भने, ‘अब महानगर एक्सनमा जान्छ, गल्ती गर्ने व्यवसायीलाइ एकपटक सुध्रिने मौका दिन्छौँ, तर पुनः अर्कोपटक अनुगमनमा आउँदा सुधार भएको नपाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्छौँ ।’ रासस