लगनखेलको मन्जुश्री पेट्रोल पम्प सिल
काठमाडौं । काठमाडौं महानगपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । मापदण्डविपरित बनाइएको उक्त पेट्रोल पम्प महानगरले आइतबार सिल गरेको हो । उक्त पेट्रोल पम्प लामो समयदेखि महानगरकै जग्गामा संचालनमा रहेको थियो । महानगरले उक्त पेट्रोल पम्पलाई ६ महिना अगाडि नै मापदण्ड विपरीत रहेको भन्दै हटाउन सूचित गरेको थियो । तर, पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि पम्प सिल गरिएको महानगरले जनाएको छ ।
खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना
नवलपरासीपूर्व । नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित ऐनमा गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन बाँझो रहेका खण्डमा कुनै फार्म, कम्पनी वा गाउँपालिकालाई करारमा दिनुपर्ने उल्लेख गरिएको छ । गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन लगातार दुई वर्षसम्म बाँझो राखेमा गाउँपालिकाले आर्थिक ऐनमा तोकिए बमोजिमको जरिवाना लगाउन सक्ने जनाइएको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन यस्तो नीति अख्तियारी गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋिण, अनुदानसहित कार्यक्रम सञ्चालन गरिएकाले कुनै खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको अध्यक्ष पाण्डेले बताए । कृषि तथा पशु उत्पादनका क्षेत्रमा गाउँपालिकाले विशेष बजेट व्यवस्था गरेको बताउँदै दूध उत्पादन र पशुपालनमा पनि अनुदानको व्यवस्था गरिएको बताए । हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशनले हुप्सेकोट गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को प्रथम संशोधन प्रस्तावसहित तीनवटा ऐनलाई पारित गरेको छ । रासस
अव्यवस्थित प्रचार सामग्री हटाउँदै शंखरापुर नगरपालिका
काठमाडौं । शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाउन थालेको छ । नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानरलगायतका सामग्री हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख आङ्काजी शेर्पाले जानकारी दिए । नगरपालिकाले इन्द्रायणी बजारबाट बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरुप पार्नेगरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउन सुरु गरेको शेर्पाले जानकारी दिए । नगरपालिकाले वडा नं ९ देखि सुरु गरेर वडा नं १ सम्मका त्यस्ता सामग्री हटाउने अभियान थालेको हो । प्रचारका नाममा नगरपालिकालाई नै कुरुप पार्नेगरी जथाभावी राखिएका त्यस्ता प्रचार सामग्री नगरप्रमुख रमेश नापितको निर्देशनमा हटाउन थालिएको हो । रासस