काठमाडौं महानगरले ३ महिनामा सबै हार्डिङ बोर्ड हटाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको सबै होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले ३ महिनाभित्र काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन लागेको काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनको अनुसार महानगरले ३ महिनाभित्र मापदण्ड विपरीत राखिएका काठमाडौंको सबै होर्डिङ बोर्ड हटाइसक्ने योजना बनाएको छ ।
२४ घण्टामा इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका(२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको हो । सूचनामा इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन भनिएकाे छ। महानगरले हाल मापदण्ड विपरित राखिएको संरचनाहरु हटाइरहेको छ ।
सार्वजनिक र सरकारी जग्गा खाली गर्न टोखा नगरपालिकाको निर्देशन
काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई निर्देशन गरेको छ । टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकका अनुसार बैठकले आफ्नो वडाभित्रका सार्वजनिक तथा सरकारी जग्गा खाल गराउने निर्णय गरेकाले सबै वडाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका स्थानमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् । यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनाएको संरचना भत्काउन थालेपछि टोखाले पनि सूचना जारी गरेको हो ।