सुन्दरबजार र मध्यनेपालमा कांग्रेस, मस्र्याङदीमा पुन : एमाले विजयी
लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित भएका हुन । सुन्दरबजारमा नवनिर्वाचित कोइरालाले ६ हजार ६४१ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत प्राप्त गर्दै विजयी भईन भने उनका निकटम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरेका थिए । मध्यनेपालमा कांग्रेसका पाण्डेले ३३७ मतले एमालेका राजकुमार श्रेष्ठलाई पछि पार्दै विजयी भएका छन् । पाण्डेले ६ हजार ५५१ मत प्राप्त गरे भने, उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेको निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिए । पाण्डे यसअघिका प्रमुखसमेत रहेका थिए। प्रमुखमा पराजित श्रेष्ठ यसअघिका उपप्रमुख थिए । त्यस्तै, उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई एक हजार ३४२ मत अन्तरले हराउँदै विजयी भएकी छिन् । उनले ६ हजार ४१६ प्राप्त गर्नुभयो भने, उपेन्द्रले पाँच हजार ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुन्दरबजारमा २० हजार ७९६ मतदाता रहेकोमा १४ हजार ५२ मत खसेको थियो भने, मध्यनेपालमा २० हजार ९२ कूल मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो । मस्र्याङ्दीमा पुन : एमाले मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले) का अर्नुन गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गरे । यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका गुरुङ पुनः अध्यक्ष बन्न सफल भएका हुन । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट एमालेका गुरुङले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९०२ मतले हराएका थिए । तर अहिले कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनलाई पछि पार्दै एक्लै लडेको एमालेले मस्र्याङ्दीमा जित हासिल गरेको छ । यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकी जुनामाया थापाले गठबन्धनका उम्मेदवार अजय तामाङलाई एक हजार ८८५ मतअन्तरले पछि पार्दै विजयी भएकी छिन् । उनले पाँच हजार ८९५ मत प्राप्त गर्दा तामाङले चार हजार १० मत प्राप्त गरेका थिए ।
नेकपा एसले गाउँपालिका र जसपाले नगरपालिकाको प्रमुख पद जित्न सकेन
काठमाडौं । स्थानीय तहको निर्वाचनको देशव्यापी मत परिणाम सार्वजनिक हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले गाउँपालिका अध्यक्ष र जनता समाजवादी पार्टी, नेपालले नगरपालिकाको प्रमुख पद जित्न सकेको छैन । माधव नेपालको नयाँ पार्टी एकिकृत समाजवादीका उम्मेदवारहरूले ६ वटा नगरपालिकाको प्रमुख पदमा विजयी भइसकेकाे छ । सो पार्टीका नै ५ वटा नगरपालिकाका उम्मेदवारहरू अग्रस्थानमा छन् । हालसम्म एकिकृत समाजवादी पाटीका उम्मेदवारहरु गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुन सकेका छैनन् । यस्तै, उपेन्द्र/बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुन सकेका छैनन् । सो पार्टी उम्मेदवारहरू १४ वटा गाउँपालिकाको अध्यक्ष पदमा भने निर्वाचित भइसकेका छन् । जसपाका उम्मेदवारहरू ६ वटा गाउँपालिकाको अग्रस्थानमा छन् ।
गोदावरीमा दोहोरिए प्रमुख र उपप्रमुख
काठमाडौं । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएकी हुन् । प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले०का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाएका छन् । उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाएकी छिन् ।