माग र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं – उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले स्थानीय माग र संघीय राजधानी सहरको आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर काम गरिरहेको बताएकी छिन् । वैदेशिक अध्ययनमा अध्ययनरत विद्यार्थीहरुसँगको भेटका क्रममा उनले सो कुरा बताएकी हुन् । काठमाडौं विश्वविद्यालय, स्कूल अफ इञ्जिनियरिङका प्राध्यापक भीमप्रसाद श्रेष्ठको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा अध्ययनरत विद्यार्थीहरु उक्त कार्यक्रममा उपस्थित थिए । उपप्रमुख डंगोलका अनुसार फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित काम गर्दा मानव स्वास्थ्य र वातावरणमा असर नहोस् भन्ने विषयमा महानगर सचेत रहेको छ । ‘वडा स्तरमा मेलमिलापकर्तामार्फत मेलमिलापलाई प्राथमिकतामा राखेको छु, महिला सशक्तिकरणका लागि उपलब्धी हासिल भएका छन्, यसको पूर्णताका लागि परिवारको मनोविज्ञानसँग सम्बन्धित पक्षलाई सुधार गर्दै जानुपर्छ,’ उनले भनिन् । नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा विचारगोष्ठी सञ्चालन भइरहेको छ ।

स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलको प्रचारप्रसारमा लाग्न नपाइने

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा लाग्न नपाइने भएको छ । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९’ परिच्छेद ३ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको छ । सो व्यवस्थामा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय तथा सोका पदाधिकारीले देहायका आचरण पालना गर्नुपर्नेछ : क) कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने, तर निर्वाचनमा आफैं उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न यस खण्डले बाधा पुर्याएको मानिने छैन र यसरी प्रसारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन ।’ आयोगले ‘निर्वाचन आचारसंहिता, २०७९’ भदौको १३ गते सोमबार नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

मेयर बालेन शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दामा सुनुवाइ हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध दर्ता भएको अबहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनवाइ हुने भएको छ । मेयर शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दाको सुनुवाई न्यायाधीश हरिकृष्ण कार्कीका एकल इजलासमा हुने भएको हो । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलना गरेको भनेर निवेदन दर्ता गरेका थिए । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेशलाई संकेत गर्दै मेयर शाहले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी सार्वजनिक रुपमा प्रतिक्रिया दिएका थिए । दर्ता भएकाे निवेदनलाई स्वीकार गरेर अदालतले शाहका नाममा आदेश जारी गरेमा उनले आफू स्वयं उपस्थित भई वा वारेस मार्फत लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ ।