चार दिनभित्र फोहर व्यवस्थापन हुने

काठमाडौं । यसअघि काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिए । प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ । यसअघिको फोहर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरे । केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिनुभएको थियो । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् । कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहर ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौँका ३२ वडा छन् । यसमा मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । रासस

ललितपुरमा वर्षमा २६ दिन मासु बेच्न नपाईने, बेचे कारबाही

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी, बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको छ । सोमबार वडामा रहेका मासु व्यवसायी र वडा अध्यक्ष दामोदर खड्कासहित वडाको प्रतिनिधिसँग बसेको बैठकले सो निर्णय गरेको हो । निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्री निषेध गरिएको छ । वर्षभरी २४ दिन एकादशी र २ दिन दुई ठुला चाड पर्छन । बैठकले गरेको निर्णयलाई मासु व्यवसायीले स्वागत गरेका थिए । मासु व्यावसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यावसायीले स्वीकार गरेको बताए । उनले १८ सँगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागु गर्न आग्रह गर्नुपर्ने बताए । अर्का मासु व्यवसायी सुबिन खड्गीले वडाको निर्णयलाई कार्यान्व्यन गरेपछि व्यवहारिक हुन केही दिन लाग्ने बताए ।    

कालीकोटमा प्रशासन र नगरपालिकाको कमजोरीले २ हजार बढीको नागरिकतामा त्रुटि

कर्णाली । कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अङ्ग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो । नगरपालिकाले जन्म, विवाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका लागि सेवाग्रहीलाई सिफारिस लेटरप्याडमा एउटा र प्रशासनले दिने नागरिकताको अङ्ग्रेजी भाषामा अर्को अक्षर हुँदा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या भएको हो । नगरपालिकाले २०७४ वैशाख महिनादेखि सेवाग्रहीलाई दिएका हरेक सिफारिस कागजपत्रमा तिलागुफाको ‘फा’ अक्षरको अङ्ग्रेजीमा ‘पिएचए’ छ तर स्थानीय प्रशासनले दिएको नागरिकतामा ‘एफए’ भएर फरक पर्दा सेवाग्राही समस्यामा परेका हुन् । उक्त नगरपालिकाको वडा नं ३स्थित कालीकोट फोइमहादेव गाउँका दीक्षा हमालले नागरिकता र शैक्षिक तथा अन्य महत्वपूर्ण कागजमा अक्षर फरक पर्दा समस्या भएको बताइन् । ‘राहदानी विभागमा पासपोर्ट बनाउँदा नगरपालिकाले दिएको कागजपत्र र मेरो शैक्षिक प्रमाणपत्रअनुसार ‘पिएचए’ नै आधिकारिक हुन्छ भनेर उल्लेख ग¥यो,’ हमालले भनिन्,’यता नागरिकताको अंग्रेजी भर्सनमा ‘एफए’ छ ।’ काठमाडौँबाट कालीकोट पुगी साउन ९ गते नागरिकता बनाएर फर्केको बताउँदै उनले नागरिकता र अन्य कागजमा फरक परेको अक्षर सच्याउन फेरि कालीकोट पुगेको जना । उनले भनिन्,’नागरिकता बनाएको एक महिनाभित्रै नागरिकता सच्याउने प्रावधान छ भनेपछि साउन २९ गते नागरिकतामा ‘एफए’ अक्षर विस्थापन गरी ‘पिएचए’ बनाइदिन भनेर काठमाडौंबाट पुनः कालीकोट फर्के तर साउन ३१ गते कालीकोट प्रशासनले अक्षर नसच्याएर ‘एफए’ र ‘पिएचए’ अक्षर भएको ठाउँ (पालिका) एउटै हो भन्ने थप कागज दिएपछि काठमाडौं फर्कनुको विकल्प रहेन ।’ प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गृह मन्त्रालयको सफ्टवेयरले ‘एफए’ नै देखाउने भएकोले त्यही अनुसारको नागरिकता दिइएको बताए । उनले भने, ‘तिलागुफा नगरपालिकाले ‘पिएचए’ नै बनाउन भनेर प्रशासनमार्फत गृह मन्त्रालयमा निर्णय गरेर पठाएमा सफ्टवेयर त्यही बनेर आउँछ र त्यही अनुसार नागरिकता बन्छ ।’ यो त्रुटि हुनुमा नगरपालिका मुख्य जिम्मेवार रहेको प्रजिअ शर्माले बताए । सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार विसं. २०७४ वैशाख १ गतेदेखि हालसम्म ‘एफए’ अक्षरबाटै प्रदान गरिएका प्रतिलिपि र नयाँ नागरिकताको सङ्ख्या दुई हजार २२० रहेको जानकारी दिए । विसं २०७२ माघ यतादेखि भने जिल्ला प्रशासनले तिलागुफाका दुई हजार ७३५ जनालाई नागरिकता प्रदान गरेको उनले बताए । हमालका बुबा चित्रबहादुर हमालले यत्रो सङ्ख्यामा नागरिकता बनाउँदासमेत ध्यान नदिनु स्थानीय प्रशासन र नगरपालिका दुवैको लापरबाही भएको बताए । ‘आधिकारिक निकायले लामो समयदेखि गरेको त्रुटिले धेरैलाई समस्या भएको छ,’ उनले भने, ‘यसले गर्दा हामीले भौतिक दुःखका साथै बिना कारण दोब्बर पैसा खर्च गर्नुपरेको छ । ती निकायको बेलैमा ध्यान जाओस् ।” यता नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले पहिलेका पदाधिकारीले त्यसमा ध्यान नदिएकाले यो समस्या आएको बताए । उनले आज कार्यपालिकाको बैठक बसी ‘एफए’ अंगे्रजी अक्षर हटाएर ‘पिएचए’ कायम हुनुपर्ने निर्णयप्रति संलग्न राखी गृह मन्त्रालयलाई अनुरोध पत्र पठाउने जनाए । रासस