तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गरेकाे सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् । यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत पोखरेलले बताइन् । यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गरेका छन् । कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताइन् ।

अग्रता कायम गर्दै बालेन, कटाए १० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २४ हजार ७०० मतगणना हुँदा स्वतन्त्र उमेदवार शाहले १० हजार २४१ मत प्राप्त गरेका छन् । यस्तै एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छिन् ।

ललितपुरकाे महाँकालमा कांग्रेसका गणेश केसी विजयी

ललितपुर । महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी विजयी भएका छन् । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का डोल्मामाया गोले विजयी भएकी छिन् । गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल विजयी भएका छन् ।