बैतडीको डिलाशैनी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने

बैतडी । डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ । ‘एक गाउँ, एक डाक्टर’ नीतिअन्तर्गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुल्ला गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । छात्रवृत्तिमा एमबिबिएस अध्यननका लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातसहित सात दिनभित्र योग्यता पुगेका इच्छुक गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकले सम्पर्क गरिदिन अनुरोध गरिएको छ । आवेदनका साथ नेपालभित्रको मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएको प्राप्ताङ्कसहितको प्रमाणित प्रतिलिपि, सामुदायिक विद्यालयबाट माध्यमिक तहको शिक्षा उत्तीर्ण गरेको, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित विश्वविद्यालय वा शैक्षिक संस्थाले सो विषय अध्ययनका लागि तोकेको प्रमाणित शुल्क विवरण र प्रवेश परीक्षामा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपि पेश गर्न भनिएको छ । छात्रवृत्तिमा एमबिबिएस पढाउने क्ुरा गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको र छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को अधिनमा रहेर आवेदन मागिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

नगरवासीलाई मासिक १० हजार लिटर पानी निःशुल्क

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ ।उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए। हेटौँडामा खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उनले बताए । उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ । मेयर मिना कुमारी लामा हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपछि कही स्थानीय तहले खराव काम गरेको समाचार आउने धेरे पनि धेरैले राम्रो काम पनि गरिरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा हटौडा उपमहानगर पालिकामा एकपा समाजबादीकी नेतृ मीना कुमारी मेयर निर्वाचित भएको थिइन् । समाजबादीबाट थोरै संख्यामा जनप्रतिनिधि चुनिएकोले पनि उनीहरुलाई राम्रो काम गरेर देखाउनु पर्ने चुनौति रहेको छ ।

म्याग्दीमा ४० प्रतिशत उम्मेदवारले मात्र चुनाव खर्चको विवरण बुझाए

म्याग्दी । म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मे्दवार बनेका सात सय १८ जनामध्ये दुई सय ८६ ले मात्र खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले अझै ६० प्रतिशत उम्मेदवारले चुनावको खर्च विवरण बुझाउन बाँकी रहेको बताए । ‘निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ’, उनले भने, ‘सार्वजनिक सूचना, स्थानीय तह, मौखिकरुपमा र सम्बद्ध राजनीतिक दलहरुमार्फत विवरण बुझाउन ताकेता गरेका छौँ ।’ निर्वाचित भएका अधिकांशले विवरण बुझाए पनि पराजित उम्मेदवारले खर्च विवरण बुझाउन रुचि देखाएका छैनन् । अन्नपूर्ण गाउँपालिकाका ६७, धौलागिरि गाउँपालिकाका ४६, बेनी नगरपालिकाका ७६, मङ्गला गाउँपालिकाका २४, मालिका गाउँपालिकाका ४६ र रघुगङ्गा गाउँपालिकाका २४ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका र कम रघुगङ्गा गाउँपालिकाका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । जिल्ला समन्वय समितिका नौ जना र कार्यपालिका सदस्य निर्वाचनका ६ उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् । अन्नपूर्णमा ९८, धौलागिरिमा ८४, बेनीमा एक सय ५६, मङ्गलामा ९८, मालिकामा एक सय ४७ र रघुगङ्गामा एक सय ३५ उम्मेदवार थिए । निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको थियो । बुझाएका विवरण आयोगको सफ्टवेयरमा भरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, वडाध्यक्षले रु दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले रु तीन लाख ५० हजार र अन्यले रु एक लाख ५० हजारसम्म खर्च गर्न पाउने आयोगले व्यवस्था गरेको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताबमोजिम उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । यसैबीच एक महिनाको अवधिमा म्याग्दीमा एक हजार दुई सय ९७ जनाले मतदाता नामावली दर्ता गरेका छन् । जिल्ला निर्वाचन र प्रशासन कार्यालयमा सात सय १४ पुरुष र पाँच ८३ महिलाले मतदाता नामावली दर्ता गराएका निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सन्देश थापाले जानकारी दिए । अन्य जिल्लाका ३८ र एक हजार दुई सय ५९ म्याग्दीकाले तस्बिरसहितको नामावली दर्ता गराएका हुन् । आयोगले गत असार १ गतेदेखि मतदाता नामावली दर्ता खुला गरेको थियो । छ वटा पालिका र ४५ वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा ४१ हजार चार सय १४ पुरुष, ४३ हजार नौ सय ६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार तीन सय ७५ मतदाता थिए । रासस