पनौती नगरपालिकाले मोतीबिन्दुको उपचार निःशुल्क गर्ने
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ । निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ । नगरप्रमुख भण्डारीले सम्झौताले स्थानीयको सो रोगको गुणस्तरीय उपचार पाउनेमा विश्वस्त रहेको बताए। उनले भने ‘अब नगरवासीले सो रोगको निःशुल्क सहज परीक्षण र उपचार पाउनुहुनेछ ।’ अस्पतालको सहयोगमा गत वर्ष पनौतीका ९० जनाको सो रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । नगरसँगको सम्झौताले सो रोग न्यूनीकरण अभियानमा थप हौसला मिलेको अस्पतालले जनाएको छ । अस्पतालले यसअघि आँखामा लाग्ने मोतीबिन्दु रोगीको निःशुल्क उपचार गर्न काभ्रेपलाञ्चोकको बनेपा नपा, नमोबुद्ध नपा र बेथानचोक गाउँपालिकासँग सम्झौता गरिसकेको छ । यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, धनुषाको मिथिला नपा, छिरेश्वर नपा र कमला नपासँग पनि अस्पतालले सम्झौता गरेको जनाइएको छ । अस्पतालकै सहयोगमा दुई साताअघि पनौती–५ मा आँखा शिविरको आयोजना गरी चारसयको आँखा परीक्षण गरेमध्ये सो रोग लागेको देखिएका करिब एक दर्जन वृद्धवृद्धाको निःशुल्क शल्यक्रिया गरिएको थियो । वडा कार्यालयले ती वृद्धवृद्धाको बनेपास्थित उक्त अस्पतालमा उपचारार्थ आवतजावतका लागि यातायात व्यवस्था गरेको थियो । आँखा विशेषज्ञका अनुसार मोतीबिन्दु रोग मधुमेह तथा हाइपरटेन्सनजस्ता रोग, बढ्दो उमेर, जलबिन्दु, पोषण तत्वको कमी, चिनी रोग, जन्मजातरूपमा वा आँखाको अन्य समस्याका लागि गरिएको शल्यक्रिया, वंशाणुगत, शिशु जन्मनुभन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सन, चोटपटक, घामको विकीरण, आँखाको पानीको खराबी तथा धूमपानका कारण लाग्ने गर्दछ ।
५ करोडको लगानीमा बाइसधारा पार्क ‘स्मार्ट’ बन्दै, पिकनिक स्पटदेखि स्विमिङ पुलसम्मको सुविधा
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको बाइसधारा पार्कको स्तरोन्नती गर्ने भएको छ । महानगरले सो पार्कको स्तरोन्नती गरेर ‘स्मार्ट पार्क’ को रूपमा विकास गर्ने भएको हो । बालाजुको बाइसधारा पार्कलाई नयाँ स्वरूपमा फेरेर पुनर्निमार्ण गर्ने योजनाका साथ काठमाडौं महानगरपालिकाले काम अगाडि बढाएको हो । महानगरका सार्वजनिक निर्माणका विभागीय प्रमुख रामबहादुर थापाले बाइसधारा पार्कलाई स्मार्ट पार्कका रुपमा अगाडि बढाउने बताएका हुन् । उनका अनुसार सो पार्ककालाई स्मार्ट पार्कको रूपमा विकास गर्ने योजनासहित अहिले महानगर अगाडि बढेको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि बालाजु बाइसधारा पार्कको सौन्दर्यता हराएको थियो । त्यसपश्चात् उक्त पार्कको स्वरुप परिवर्तन हुन सकेको थिएन । अब महानगरले उक्त पार्कलाई पुनः निर्माण गरी नयाँ स्वरुप दिन लागेको हो । विभागीय प्रमुख थापाका अनुसार पार्क निर्माण गर्नको लागि ५ करोड ९७ लाख ७९ हजार रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । सो पार्क निर्माण गर्नको लागि महानगरपालिकाले टेन्डर लगाइसकेको छ । श्री पशुपति कन्स्ट्रक्सन कम्पनीले सो पार्क निर्माण गर्ने टेन्डर पारेको हो । कम्पनीले टेन्डर पारे पनि महानगरसँग पार्क निर्माण गर्नको लागि सम्झौता भने भएको छैन । पार्क निर्माणको लागि उक्त कम्पनीसँग सम्झौता गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । ‘पार्क निर्माणको लागि अहिले महानगरले आवश्यक तयारी गर्दै छ, उक्त कम्पनीसँगै महानगरले पार्कको स्तरोन्नती तथा निर्माण गर्नको लागि सम्झौता गर्ने तयारीमा लागेको छ, खरिद विभागबाट टेन्डर भएर सम्झौता भएपछि काम अगाडि बढाउने हो, अहिले खरिद सम्झौता गर्ने क्रममा छौं,’ थापाले भने । महानगरपालिकाका अनुसार साउनभित्रै उक्त कम्पनीसँग सम्झौता हुनेछ । सम्झौता पश्चात् मात्र पार्क कहिले निर्माण सक्ने भन्ने विषय टुङ्गो लाग्नेछ । निर्माण पश्चात् पार्कका सम्पूर्ण स्वरुप परिवर्तन भई नयाँ संरचनामा पार्क देख्न पाइने पनि थापाले बताए । महानगरपालिकाले ३ वर्ष अगाडि सो पार्कको स्तरोन्नती गर्ने योजना बनाएको थियो । पार्क भित्र सामान्य मर्मत सम्भार गरे पनि पार्कको कामले पूर्णता पाउन सकेको थिएन । नयाँ संरचनाको विकास गर्ने योजना सहित महानगरले एक वर्ष अगाडि नै टेन्डरको आव्हान गरेको थियो । तर, टेन्डर भए पनि सम्झौता हुन नसक्दा पटक–पटक ठेक्का रद्ध हुँदै आएको पनि थापाले बताए । पार्कको संरक्षण गरेर थप आकर्षक, सुविधायुक्त र मनमोहक बनाउने योजना अनुसार महानगरले बाइसधारा पार्कको गुरुयोजना तयार पारी स्मार्ट पार्कका परिकल्पना साथ अगाडि बढाएको हो । ‘अब पार्कलाई मर्मत गरेर मात्र हुँदैन, यसलाई पुनः संरचनामार्फत् नयाँ स्वरुप दिएर स्मार्ट बनाउने हाम्रो सोच छ, निर्माण सम्पन्न गर्न केही वर्ष लाग्ला तर पार्कलाई स्तरोन्नती गरेर साँच्चिकै थकाइ बिसाउने उत्तम विकल्प बनाउँछौं,’ उनले भने । पार्कभित्र रहेका स्पटहरुलाई पिकनिक खान योग्य बनाउन सके आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने महानगरको विश्वास छ । पार्कभित्रको प्राकृतिक बगैँचा र धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण पनि गर्ने महानगरको योजना छ । पार्क निर्माण पश्चात् पार्क भित्र प्रवेश गर्न सामान्य शुल्क पनि लाग्छ । तर, शुल्क निर्धारण अहिले नै भई नसकेको पनि थापाले बताए । महानगरपालिकाले अहिले बाइसधारा पार्कमा नयाँ स्विमिङ पुल (पौडी पोखरी), पिकनिक स्पट, चेन्जिङ रुम, पुल, सांस्कृतिक सम्पदा आदि जस्ता संरचनाको निर्माण हुनेछन् । पौडी पोखरीको वरपरको जग्गामा बच्चाहरूका लागि पनि छुट्टै पोखरी बनाउने तयारी गरिएको छ । स्विमिङ पुल वरपर हरियाली बगैँचा पनि रहनेछ । सँगै विभिन्न आकर्षक संरचनाहरू बनाएर स्विमिङ पुललाई स्तरी बनाइनेछ । उक्त कम्पनीसँग सम्झौता भई ठेक्का लगाएर दशैैं अगाडि बाट नै काम सुरु गर्ने योजना रहेको पनि थापाले बताए । थापाका अनुसार पार्कको डिजाइन सामान्य परिवर्तन भएको छ । पार्क ओलम्पिक स्ट्याण्डर्डमा हुनेछ । महानगरका अनुसार पार्क १ सय ६५ रोपनी जमिनमा हुनेछ । प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरूले सजिएको बाइसधारा पार्कमा थप आन्तरिक पर्यटक भित्र्याउन भन्दै महानगरले स्तरीकरणको योजना बनाएको हो ।
गोरखाका गण्डकी गाउँपालिका अध्यक्षले विद्यालयलाई दिए आफ्नो सेवा सुविधा
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गरेका छन् । उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन् । ‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए,’ उनले भने, ‘यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ ।’ सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिए । सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन् । रासस