बुटवलका सडकमा खुला दूध बेच्न नपाइने

बुटवल । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो । दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको अर्यालले बताए । यस्तै बैठकले दूग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध विक्रेता, किसानलगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ । रुपन्देही डेरी व्यवसायी सङ्घका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायी कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा र संजोग श्रेष्ठ सदस्य रहेका छ भने सदस्यसचिवमा बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख रहेका छन् । बैठकले दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताए ।

पोखरा महानगरले सुरु गर्यो अन्डरग्राउण्ड पार्किङ

अन्नपूर्ण । पोखरा महानगरपालिकाले भूमिगत तला अन्डरग्राउण्ड पार्किङ सुरुआत गरेको छ । पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै निजी कार पार्किङ गरी अन्डरग्राउण्ड पार्किङको थालनी गर्नथालेका हुन् । पहिले आंशिकरूपमा अन्डरग्राउण्डमा पार्किङ भए पनि अब पूरैमा पार्किङ गरिने उनले जानकारी दिए । ‘पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान राखिने गरिएको रहेछ’, उनले भने, ‘केही सवारी पार्किङ गरिने यस ठाउँमा अबदेखि सबै क्षेत्रमा पार्किङ गरिन्छ’, महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरुलाई सन्देश दिन आफैँले यो कामको सुरुआत गरेको महानगर प्रमुख आचार्यले जानकारी दिए । महानगरले गत भदौ १३ गते पोखरा बजार क्षेत्रभित्रका घरहरूको अन्डरग्राउण्ड खाली गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी गरेको हो । सोही सूचनाअनुसार नै महानगरले आफ्नै भवनबाट यसको सुरुआत गरेको हो । महानगरको स्वामित्वमा रहेको भवनको अन्डरग्राउण्डमा सिलाइका मेसिनसँगै गोदामका सामान राखिएको थियो । त्यहाँ आंशिकरूपमा मात्र दुई–तीनवटा सवारी राख्ने गरिएको थियो । पोखराको बजार क्षेत्रमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ । नत्र महानगरले नक्सा पास नै गरिदिन्न । अन्डरग्राउण्ड पार्किङ बनाएमा सो तलाको ५० प्रतिशत राजस्वसमेत घरधनीले छुट पाउँछन् । महानगरको प्रावधानमै रहेर कतिपय घर बनेका छन् । उनीहरूले राजस्वमा छुट पनि लिएकै छन्, तर अधिकांशले अन्डरग्राउण्डलाई पार्किङका रूपमा प्रयोग गरेका छैनन् । त्यसरी पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाइकल ग्यारेज, मोबाइल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसललगायतका व्यवसाय गरिएको छ । पोखरामा करिब दुई सय ५० घरधुरीले अन्डरग्राण्डमा पार्किङ बनाउने भनेर नक्सापास गराउँदै ५० प्रतिशत छुट लिए पनि व्यवहारमा उतारेका छैनन् । दुई सय ५० मध्ये करिब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अन्डरग्राउण्डलाई पार्किङका रूपमा गरेको पोखरा महानगरपालिकाका इञ्जीनियर सुरेन्द्र पौडेलले बताए । महानगरपालिकाले अटेर गरेर अन्डरग्राउण्ड खाली गरेर पार्किङस्थल नबनाए महानगरको कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ । ‘हामीले ३५ दिने सूचना जारी गरिसकेका छौँ, केहीले खाली गरिसकेका छन् । केहीमा ठूलो समस्या भएकाले दुई–तीन दिनको समय मागेका छन्’, महानगरप्रमुख आचार्यले भने, ‘३६ दिन पुगेको दिनमा हामी अनुगमनमा निस्कन्छौँ, त्यसभन्दा अघि हामीले आफ्नै भवनबाट सुरु गरौँ भनेर अघि बढेका हौँ ।’ रासस

दशैंको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दशैं अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ । सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन् । अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन् । सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन् । दशैं तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ । चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन् । स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो । उनले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताए । ‘वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो’, जैशीले गुनासो गरे । सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताए । वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उनको भनाइ छ । सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ । प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताए । विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो । हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए । सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ । बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ । अम्कोटमा २०७७ भदौमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो । चार वर्षदेखि साँफे–मार्तडी सडक अवरुद्ध हुँदै आएको छ । सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताए । अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ । बर्सातमा पूर्णरुपमा बन्द हुने उक्त ठाउँमा वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ । रासस