बाढीपीडितका उद्धार र राहत वितरणमा खटिए कैलालीका जनप्रतिनिधि

टीकापुर । कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका डुबानमा परेका छन् । बाढीले टीकापुरका वडा नं २, ५ र ८ मा सयौँ घर डुबानमा परेका छन् । वडा नं २ मा रानीकुलो विभिन्न ठाउँमा फुटेर बस्तीमा पसेपछि विभिन्न बस्ती डुबानमा परेका वडा नं २ का वडाध्यक्ष दीपक चौधरी बताउँछन् । ‘खतरामा छौँ, मूलपानी जाने बाटो नजिकै रानीकुलो ड्याम फुटेको छ । कटासे नजिकै जगतपुर र मिलनचोकमा रानीकुलो फुटेर बस्तीमा पसेकाले डुबान भएको छ’, उनले भने, ‘बन्दीपुर, कोठारपुर, विजयनगर, राजीपुर, सीतापुर डुबानमा परेकाले हामी उद्धारमा खटेका छौँ ।’ टीकापुरको वडा नं ५ मा पनि रानीकुलो बस्तीमा पसेको छ । यसका साथै शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्कने खतरा बढेकाले नागरिकलाई सुरक्षित राख्न विभिन्न प्रयास भइरहेका वडाध्यक्ष बलवीर चौधरीले जानकारी दिए । ‘उर्दिपुर, बङ्गालपुर, झन्टझटपुर मनिकापुर पूरै जलमग्न भएको छ’, उनले भने, ‘शाहीपुरमा कर्णाली नदीमा तटबन्ध फुट्ने खतरा बढेको छ । त्यसैले त्यहाँका बस्तीलाई उच्च स्थानमा सारिरहेका छौँ ।’ त्यस्तै टीकापुरको वडा नं ८ को वनगाउँबाट नदी बस्तीमा पसेको छ । वडा नं ८ को वनगाउँका नागरिकले तीन दिनदेखि घर छाडेका छन् । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बाढीले नागरिकको सम्पत्ति र खेत सबै क्षति भएको बताए । ‘वडा पूरै डुबानको खतरामा छ । फाँटागाउँका मानिस सडकमा, कालिमाटी स्कुल, सूर्यपुर स्कुललगायतका ठाउँमा राखेका छौँ’, उहाँले भन्नुभयो, ‘यस वर्ष भोकमरी हुने निश्चित छ । नदी भङ्गालो बनाएर बस्तीमा पसेको छ ।’ जानकी गाउँपालिका वडा नं ९ मा पनि बाढी बस्तीमा पसेको छ । नदी बस्ती पस्नबाट रोक्ने पालिकाको अथक प्रयास सफल भएन । नदी बस्तीमा पसेपछि वडा नं ९ का केही परिवार विस्थापित भएका र उनीहरूको बसोबास तथा खानपानको व्यवस्था मिलाउन थालिएको अध्यक्ष गणेश चौधरीले बताए । ‘दर्जन बढी घर विस्थापित भएका छन् । अहिले पनि घर फर्कने वातावरण छैन’, अध्यक्ष चौधरीले भने, ‘पीडितलाई राहतमा खाद्यान्न दिएका छौँ । उहाँहरूको खानपानको व्यवस्थासमेत गरिएको छ ।’ कर्णाली नदीमा पानीको सतह बढेर विभिन्न वडामा बाढी आएपछि सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू, उपप्रमुख खड्कबहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीलगायत सबै पीडितको उद्धारमा खटेका छन् । बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने, उनीहरूको बसोबासको व्यवस्था मिलाउने, जोखिममा रहेकालाई सार्न स्थानीयवासीको सहयोग लिने काम भइरहेको छ । नदी बस्तीमा पसेपछि आइतबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले यस क्षेत्रका प्रभावित विभिन्न ठाउँको निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री रावलले जिल्ला प्रशासन कार्यालय, मन्त्रालयअन्तर्गतको प्रादेशिक विपद् समितिलाई विपद्बाट जोगाउन राहत, उद्धारका कार्यमा जुट्न निर्देशन दिएका छन् । ‘आइतबार रातिदेखि नै म सुरक्षाकर्मी साथमा लिएर उद्धारमा खटेको छु । रातभरि प्रभावित क्षेत्रको अवलोकन गरेको छु’, उनले भने, ‘स्थिति भयाभह र दयनीय छ । सबैलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिएको छु ।’ रासस  

विराटनगरवासीले १०० दिनभित्र घर र भवनको नक्सा पास गरिसक्नुपर्ने, नभए कारवाही गरिने

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ । ‘विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सूचना प्रकाशित भएको मितिले सय दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत÷नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायलाई अनुरोध छ’, महानगरको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भई जाने व्यहोरा सूचित गरिन्छ ।’ महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसँगै सुशासन, महानगर सरसफाइ, फुटपाथ खाली, नाला सफाइ, डुबान समस्या समाधानलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाइएको छ । महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन बनाएको पाइएको मेयर कोइरालाले बताए । उनले राज्यले तोकेको कानुनको परिधिभित्र सबै आउनुपर्नेमा जोड दिए । ‘हामीले सय दिने सूचना जारी गरेका छौँ’, प्रमुख कोइरालाले भने, ‘सूचनाअनुसार सबै नक्सा पास नगरेका घर र भवनको नक्सा पास गर्नुहुनेछ ।’ महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर तीनरचार तलेसम्म बनाएको पाइएको बताए । उनका अनुसार त्यस्ता घरधनीका लागि पनि यो सूचना हो । यसअघि असोज १४ गते महानगरले सीमा पर्खाल नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ ।

नुवाकोटमा छ पदका लागि ६६ जनाको मनोनयन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि नुवाकोटका प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्रमा २९ र प्रदेश सभातर्फको चारवटा निर्वाचन क्षेत्रमा ३७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको छ पदको लागि कूल ६६ उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ को प्रदेश–१ तर्फ सातजना र प्रदेश–२तर्फ दश जनाले मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभातर्फ नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार उठाएर मनोनयन दर्ता गराएका छन् । अन्य पार्टी र स्वतन्त्र उम्मेदवारसमेत गरेर कूल १८ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए । सत्तारुढ गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा पूर्व सांसद तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ र नेकपा (एमाले)का तर्फबाट पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सांसद बद्री मैनालीको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नं १ को प्रदेश–१ तर्फ सात उम्मेदवारले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराइले जानकारी दिए । उनका अनुसार सत्तारुढ गबठन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमती प्रदेशसभाका पूर्वउपसभामुख तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङलाई उठाएको छ । नेकपा (एमाले)ले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस त्यागेर पाटी प्रवेश गर्नुभएका सुशील खड्कालाई उम्मेदवार बनाएको छ । नुवाकोटको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ जनाले मनोनयन दर्ता गराएकामा सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसले अजुर्ननरसिंह केसीलाई उठाएको छ भने नेकपा (एमाले)ले नारायणप्रसाद खतिवडालाई उठाएको छ । रासस