काठमाडौं महानगरको फुटपाथ व्यवसाय व्यवस्थापनमा क–कसले पहल गरे ? सफल होला त बालेनको मिसन ?

<p>काठमाडौं । राजनीतिक दलहरुसँग स्वतन्त्र ढंगले चुनावी प्रतिस्पर्धा गरेर काठमाडौं महानगरको प्रमुखमा लोकप्रिय मतसहित विजय भएका हुन् बालेन्द्र शाह ‘बालेन’ । काठमाडौं महानगरमा प्राचिनताको संरक्षण गर्दै आधुनिक विकासको सपना बाँडेर विजय भएका बालेनको कार्यशैलीप्रति भने पछिल्लो समयमा विभिन्न कोणबाट आलोचना हुन शुरु भएको छ । विशेषगरी फुटपाथ तथा ठेलागाडामा व्यवसाय गर्ने सिमान्तकृत समुदायका मानिसहरुप्रति निर्ममतापूर्वक [&hellip;]</p>

काठमाडौं । राजनीतिक दलहरुसँग स्वतन्त्र ढंगले चुनावी प्रतिस्पर्धा गरेर काठमाडौं महानगरको प्रमुखमा लोकप्रिय मतसहित विजय भएका हुन् बालेन्द्र शाह ‘बालेन’ । काठमाडौं महानगरमा प्राचिनताको संरक्षण गर्दै आधुनिक विकासको सपना बाँडेर विजय भएका बालेनको कार्यशैलीप्रति भने पछिल्लो समयमा विभिन्न कोणबाट आलोचना हुन शुरु भएको छ ।

विशेषगरी फुटपाथ तथा ठेलागाडामा व्यवसाय गर्ने सिमान्तकृत समुदायका मानिसहरुप्रति निर्ममतापूर्वक प्रस्तुत भएको भनेर महानगरप्रमुख बालेनलाई आलोचना गरिएको छ । तर, बालेनले आलोचनाका बाबजुद फुटपाथमा भइरहेको व्यवसायलाई र अनधिकृत भौतिक पूर्वाधार हटाउने अभियानलाई निरन्तरता दिएका छन् ।

काठमाडौं महानगरको प्रमुखमा मेयर बालेन गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत विजयी भएका हुन् तर काठमाडौंको सडकपेटी तथा फुटपाथमा मानिसहरुले व्यवसाय गर्न लागेको धेरै समय भइरसकेको छ । सो सँगै फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भनेर विषय उठ्न थालेको पनि झण्डै ३ दशक भएको छ । तर पनि काठमाडौंको फुटपाथ व्यवसायलाई दिगो व्यवस्थापन गर्ने कुरा चुनौतिकै रुपमा देखिन्छ ।

महानगर प्रमुख बालेनले फुटपाथ व्यवसायलाई हटाउन निरन्तर पहल गरेपछि सो विषयमा राजनैतिक र वौद्धिक जगतको मत पनि विभाजित भएको देख्न सकिन्छ । केहीले फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्ने बताइरहेका छन भने केहीले फुटपाथमा भइरहेको व्यवसायलाई महानगरले निःसर्त रुपमा हटाइरहेको तरिकाको समर्थन गरेका छन् ।

सडक व्यवसायलाई व्यवस्थित गर्दै संस्कृतिको विकास गर्ने पहल गरेका थिए स्थापितले
काठमाडौंलाई तत्कालीन सरकारले ०५२ सालमा देशकै पहिलो महानगरको रुपमा घोषणा गरेको थियो । आँफू महानगरको मेयरमा ०५४ सालमा निर्वाचित हुँदा फुटपाथमा व्यवसाय गर्ने प्रचलन अहिलेको जस्तो नभएको केशव स्थापित बताउँछन् । जसले गर्दा त्यतिबेला यो विषय समस्याको रुपमा विकास भइनसकेको उनको भनाइ छ । तरपनि फुटपाथ तथा खुल्ला ठाउँमा व्यवसाय गर्नेहरुलाई लक्षित गरेर स्थापितले ‘नाइट मार्केट’को अवधारणा ल्याएका थिए ।

‘म मेयर हुँदा बसन्तपुर क्षेत्रमा नाइट मार्केटको अवधारणा शुरु गरेको थिएँ । इच्छुकहरुले व्यवसाय पनि गर्न सकुन र यो एउटा संस्कृतिको रुपमा पनि विकास होस भन्ने मेरो धारणा थियो’, स्थापितले बताए । उनका अनुसार सो रात्रिकालिन बजार निकै राम्रो ढंगले सञ्चालन भएको थियो तर केही व्यक्तिहरुले सो बजारका कारण फोहोरमैला भएको सवाल उठाएका थिए । सो रात्रिकालिन बजार स्थापित मेयर हुनेबेलासम्म राम्रैसँग सञ्चालन भयो, उनको कार्यकाल वितेको केहीसमयपछि भने बन्द हुन पुग्यो ।

पूर्व मेयर स्थापितका अनुसार ०६० सालको सरकारमा गृहमन्त्री भएको बेलामा बामदेवले काठमाडौंमा भइरहेको फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने विषयमा चासो देखाए । गौतमले मन्त्रालय स्तरकै निर्णयबाट केशव स्थापितको नेतृत्वमा ७ सदस्यीय टास्कफोर्सको निर्माण गरेका थिए । सो टास्कफोर्सले ४० दिनजति समय लगाएर काठमाडौंको फुटपाथ व्यवसायलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा रिपोर्ट बनाएर तत्कालिन गृहमन्त्री गौतमलाई बुझाएको स्थापीत बताउँछन् ।

‘हामीले ४० दिनजती समय लगाएर हजारौं व्यवसायी, उद्योग वाणिज्य संघ र विभिन्न संघसंस्थाहरुसँग छलफल गरेर रिपोर्ट तयार गर्यौं’, उनले भने, ‘रिपोर्ट गृहमन्त्री बामदेवलाई बुझायौं, तर लगत्तै उहाँको मन्त्रीपद गएकाले कार्यान्वयन हुन पाएन ।’ आँफूहरुले तयार गरेको प्रतिवेदनमा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नको लागि धेरै विषयहरु समेटिएको स्थापितको भनाइ छ ।

‘हामीले प्रतिवेदनमा ७ दिनमा ७ ठाउँमा त्यस्तो व्यापार गर्न सकिने, व्यवसायीहरुलाई १० लाख सम्म ऋण उपलब्ध गराउने र आधुनिक गाडा उपलब्ध गराउने सम्मको विषय समेटेका थियौं’, स्थापितले भने । मानिसहरु काठमाडौंमा आफ्नो जीवनको सम्भावना देखेर आएर सडकमा व्यवसाय गरेको हुँदा उनीहरुलाई निरपेक्ष ढंगले हटाउने भन्दापनि व्यवस्थित गर्नुपर्छ र गर्नसकिन्छ भन्ने सोंचबाट आफूहरुले प्रतिवेदन बनाएको उनको भनाइ छ ।

स्थापित पछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयरमा मनोनित भएका थिए । उनको कार्यकालमा पशुपति क्षेत्र, माइतिघर, तिनकुने लगायतका क्षेत्रमा भएका अव्यवस्थित संरचनालाई हटाउने काम पनि भएको थियो ।

०६२/०६३ सालको आन्दोलन पछि ०७४ सालको निर्वाचनसम्म काठमाडौं महानगर जनप्रतिनिधिविहिन बन्यो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा काठमाडौंका सडकहरुलाई फराकिलो बनाउने काम गरियो । तर, फुटपाथमा व्यवसायीको संख्या बढ्दै गयो, त्यसलाई नियमन गर्ने कुनै ठोस नीति तथा कार्यक्रम कुनै निकायले बनाएन् ।

फुटपाथ व्यवस्थित गर्न पूर्व मेयर विद्यासुन्दर शाक्यले उल्लेख्य पहल गरेनन्
०७४ भएको पहिलो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखको रुपमा विद्यासुन्दर शाक्य विजयी भएका थिए । शाक्यले ५ वर्ष काठमाडौंको प्रमुख पदमा रहेर काम गर्दा खासगरी फुटपाथमा भइरहेको अनधिकृत व्यवसायलाई हटाउन कुनै निर्णायक पहल गर्न सकेनन् । उनको कार्यकालमा फुटपाथमा अव्यवस्थित व्यवसाय थप भयो तर घट्न सकेन् ।

महानगरका एक अधिकारीका अनुसार शाक्यको कार्यकालमा कहिलेकाहीँ फुटपाथमा भइरहेको अव्यवस्थित व्यवसायको विषयमा प्रसंग उठेपनि सो विषयमा कुनै ठोस नीति तथा कार्यक्रम ल्याएन । ती अधिकारीले फुटपाथमा व्यवसाय गर्न दिने कुरा गैरकानूनी हुने तर त्यसलाई हाटबजार वा क्षेत्र तोकेर गर्न दिने सम्बन्धमा महानगरले कुनै ठोस कदम नचालेको बताए ।

कतिपय समयमा बजारलाई व्यवस्थित गर्नको लागि केन्द्रीय सरकार, महानगर र विभिन्न निकायहरुको पहलमा विभिन्न प्रकारका बजारहरु स्थापना गरिएको पनि देखिन्छ । अव्यवस्थित व्यवसायीहरुलाई त्यसरी व्यवस्थापन गरिसकेपछि पनि पुनः नयाँ व्यवसायी काठमाडौंका फुटपाथमा व्यापार गर्न आउने चक्र भने रोकिएन । पछिल्लो समयमा काठमाडौंका कतिपय फुटपाथहरुमा मानिसहरु हिँडडुल नै गर्न नमिल्ने गरी अव्यवस्थित पसलहरु पनि राख्ने गरेको पाइन्छ ।

पछिल्लो ५ वर्षको सरकारमा सबैभन्दा धेरै मन्त्री फेरिएको सहरी विकास मन्त्रालयले काठमाडौं महानगरको अव्यवस्थित व्यवसायलाई हटाउन खासै पहल गरेन । छोटो समय मन्त्री बनेकी रामकुमारी झाँक्रीले पनि फोहोर व्यवस्थापनमा थोरै चासो देखाएपनि अव्यवस्थित व्यवसायमा कुनै पहल गरेको देखिएन ।

बालेनको पहल सफल होला ?
काठमाडौंलाई व्यवस्थित बनाउने मिसनमा नै महानगर प्रमुखमा निर्वाचित भएका बालेनले लामो समयदेखि समस्याको रुपमा रहेको अव्यवस्थित फुटपाथ व्यवसायलाई तिव्र गतिमा हटाउने कोशिष गरिरहेका छन् । गाडामा सामान राखेर व्यवसाय गर्नेहरुको सामग्री महानगर प्रहरीले पछिल्लो समयमा आक्रामक रुपमा नियन्त्रणमा लिने काम गरिरहेको छ ।

दशैंको पूर्वसन्ध्या गत असोज १३ गते महानगर प्रमुख शाहले विज्ञप्ति जारी गरेर चाडबाडको समयमा समेत फुटपाथ व्यवसाय गर्न नपाइने र सो विषयमा महानगर लचिलो नहुने बताएका थिए । आर्थिक वर्ष ०७९/८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्थाअनुसार महानगरले कार्यक्रम सञ्चालन गरेको बालेनले बताए ।

फुटपाथमा व्यवसाय गर्दै आएकी लमजुङ स्थायी घर भएकी एक महिलाको ठेला महानगर प्रहरीले उठाएपछि उनको विषयलाई लिएर धेरै व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत भावनात्क रुपमा प्रतिक्रिया जनाए भने कतिपयले उनलाई नगद राहत जुटाउने अभियानको नेतृत्व समेत गरे । त्यस्तै महानगरले फुटपाथ खाली गर्नको लागि सञ्चालन गरेको अभियानको विरुद्धमा सोही क्षेत्रका व्यवसायीहरुले संगठित रुपमा विभिन्न समयमा पदर्शन गर्दै आएका छन् । तर उनीहरुको पदर्शनमा अन्य आम मानिसहरुको घनिभूत समर्थन भएको भने देखिँदैन ।

पूर्वअर्थसचिव रामेश्वर खनालले बालेनले अगाडि सारेको फुटपाथ क्लियर गर्ने अभियान सफल हुनुपर्ने तर सफल हुनेमा आफूलाई शंका लागेको बताउँछन् । खनालले सबै सुविधा लिएको सम्पन्न वर्गले नै घरमा बसेर फुटपाथ व्यवसायीको पक्षमा वकालत गर्दै बालेनको अभियानलाई अवरोध गर्न खोजेको बताएका छन् । ‘फुटपाथमा निर्वाद रुपमा मान्छे हिँड्न पाउनुपर्छ, फुटपाथमा निर्वाद रुपमा मान्छे हिँड्न पायो भने सो सँग जोडिएका पसलहरुको व्यापार पनि बढ्छ’, उनले भने, ‘वृद्ध तथा बालबालिकाहरुलाई स्वस्थ रहनको लागि पनि हिँड्न पर्छ ।’

खनालले मानिसहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरेपछि उसको अन्तिम क्षमताले भ्याएसम्म त्यहाँ नियन्त्रण जमाउन चाहने प्रवृत्ति देखिएको बताए । जसले गर्दा उनीहरुको विकास हुने अन्य विकल्पहरु पनि बन्द भएको आँफूले महशुस गरेको बताए ।

फुटपाथ खाली गर्ने अभियानमा महानगरलाई खनालले धेरै बल प्रयोग नगर्न सुझाव दिएका छन् । ‘महानगरले धेरै बल प्रयोग गर्नु हुँदैन, बरु महानगरीय प्रहरीको संख्या बढाएर १/१ सय मिटरमा उनीहरुलाई राखेर फुटपाथमा व्यवसाय गर्न नदिने वातावरण बनाउनुपर्छ, जसले गर्दा स्वभाविक रुपमा मानिसले आफ्नो अन्य विकल्प खोज्छ’, उनले भने, ‘बल प्रयोग गर्नुभन्दा पनि निरन्तर निगरानी राखेर गर्नुपर्छ ।’

नगर प्रहरीको विस्तार गर्दा पनि फुटपाथमा व्यवसाय गर्नेहरुलाई रोजगारको सिर्जना हुने र अन्य आकर्षक विकल्पहरु पैदा हुने अवस्था महानगरले सिर्जना गर्नुपर्ने खनालको भनाइ छ । विकल्पहरु सिर्जना गर्दा फुटपाथ खाली गर्नको लागि बल प्रयोग गर्नुनपर्ने उनले बताए ।

Share News