व्यवस्थित र पर्यटकीय पहिचान बोकेको बनेपा बनाउनुपर्छ भनेर काम गरेका छौं : मेयर शाक्य

<p>गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा शान्ति रत्न शाक्य बनेपा नगरपालिकाको प्रमुखमा निर्वाचित भए । निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि निरन्तर सक्रियताका साथ लाग्ने प्रयत्न शाक्यले गरिरहेका छन् । शाक्य शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधार लगायतको क्षेत्रलाई व्यवस्थित गरी बनेपालाई व्यवस्थित सहर बनाउने योजनामा अगाडि बढेका छन् । बनेपामा कसरी काम गर्ने, कुन योजनालाई [&hellip;]</p>

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा शान्ति रत्न शाक्य बनेपा नगरपालिकाको प्रमुखमा निर्वाचित भए । निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि निरन्तर सक्रियताका साथ लाग्ने प्रयत्न शाक्यले गरिरहेका छन् । शाक्य शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधार लगायतको क्षेत्रलाई व्यवस्थित गरी बनेपालाई व्यवस्थित सहर बनाउने योजनामा अगाडि बढेका छन् । बनेपामा कसरी काम गर्ने, कुन योजनालाई बढी प्राथमिकता दिने, नागरिकहरूका समस्या के कस्ता छन् लगायत विषयहरू उनलाई राम्रोसँग आँफूले बुझेको बताउँछन् । प्रस्तुत छ, उनै मेयर शाक्यसँग नगरको विकास, प्राथमिकताका विषय, उद्यमशीलता र व्यवसायिक क्षेत्रको विकासमा पालिकाको योजना र कार्यक्रमका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं निर्वाचित भएर आएको ५ महिना जति भयो, यो अवधिमा के–के काम गर्नसक्नुभयो ? सर्वसाधारणले अनुभुति गर्ने खालका काम पनि भए की ?

हो, हामी निर्वाचित भएर आएको ५ महिना भयो । यो अवधिमा धेरै विकास निर्माण सम्बन्धी कामको शुरुवात भएका छन् । जनताले अनुभूति गर्ने कामहरू पनि हुँदैछन् । अहिले नगर क्षेत्रको कोर एरिया भित्र अपाङ्ग मैत्री फुटपाथलाई व्यवस्थित गर्ने काम गरिरहेका छौं । राजमार्ग छेउ–छेउमा वृक्षारोपण गर्ने काम गरेका छौं । राजमार्गलाई लक्षित गर्दै अहिले स्मार्ट लाइटको पनि जडान गरिरहेका छौं । सो लाइट प्रत्येक वडामा पनि जडान गर्ने लक्ष्य लिएका छौं ।

निर्वाचित भएर आइसकेपछि नगरका विभिन्न ठाउँमा लगभग ३ सय लाइटको जडान गरेका छौं । प्रत्येक वडामा स्मार्ट लाइटको जडान गर्ने नगरको उद्देश्य छ । डुबानको समस्यालाई धेरै हदसम्म समाधान गरेका छौं । वर्षौं देखि बनेपाबासीको आशाको रूपमा रहेको काभ्रेको एकीकृत खानेपानी योजना लामो समय देखि अलपत्र अवस्थामा थियो । निर्वाचनको दौरानमा जनता सामु ४ महिना भित्र पानी ल्याउँछौं भनेर प्रतिबद्धता पनि जनाएका थियौं । हामीले ३ महिना नहुँदै सो पानी ल्याएर नागरिकको घर आँगनमा पुर्याएका छौं । यस्ता सयौं योजनाहरुको काम अगाडि बढाएका छौं । सबै विकासका कामहरू एकै चोटि सम्पन्न हुने कुरा पनि भएन । क्रमिक रूपमा विकासका कामहरुलाई अगाडि बढाउँदै छौं ।

हाम्रो नगरपालिकामा पहिला फुटपाथमा नै ठेला गाडा राखेर व्यापार गर्ने समस्यालाई हटाइरहेका छौं । यसमा व्यवसायीहरुले पनि साथ दिएका छन् । नगर भित्रको हलसम्म हुइल चियर जान सक्ने व्यवस्था गरेका छौं भने अपाङ्ग मैत्री शौचालय पनि नगरपालिको कम्पाउन्ड भित्रै बनाइरहेका छौं ।

सर्वसाधारण भएर काम भएन भन्नु र पदमा गइसकेपछि काम गर्नुमा कतिको फरक पाउनु भयो ?

बाहिर बसेर यो भएन, यस्तो गरेको भए राम्रो हुन्थ्यो भनेर आवाज निकाल्न सजिलो छ । नभएको कामलाई भएन भनेर आवाज निकाल्नु राम्रो पक्ष्। पनि हो । तर, काम गर्ने ठाउँमा बसी सकेपछि ऐन, नियम कानूनलाई नाघेर काम गर्न सकिँदैन । विधि अनुसार निर्णय प्रकृयाबाट काम गर्नुपर्ने हुन्छ । त्यसैले सर्वसाधारण भएर काम भएन भन्नु र जिम्मेवारीमा रहेर काम गर्नु भिन्नता हुन्छ ।

बनेपा नगरपालिकामा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्ने के–कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?

व्यवस्थित शहरको विकासका लागि आधारभूत सडक सञ्जाल लगायतका पूर्वाधारलाई लिइन्छ । सडक नभई सहरलाई व्यवस्थित गर्छौं भनेर लाग्यो भने त्यो व्यवस्थित सम्भव हुँदैन । अहिले नगरपालिकाले सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएको छ । यो वर्ष २ सय भन्दा बढी योजनाका कामहरू नगर भित्र गर्दै छौं । यसमा साना देखि ठुला सबै किसिमका योजनाहरू समावेश गरिएको छ ।

यो सँगसँगै प्रदेशका पनि सबै भन्दा बढी योजनाहरू हाम्रो नगर भित्र छ । यसले गर्दा पूर्वाधार निर्माणको काम हुनेवाला छ । बढ्दो सहरीकरणलाई व्यवस्थित गर्नको लागि ढल बिजुली, खानेपानी लगायतका विषयहरु पनि हुन्छन् । प्लटिङ भइरहेको क्षेत्रमा व्यवस्थित बसोबास व्यवस्थापन गर्न खोजिरहेका छौं । चालु आर्थिक वर्षको बजेट खर्च हुने प्रकृयाको शुरुवात भैसकेको छैन् । किनभने बजेट सार्वजनिक गरेपछि चाडपर्व आयो, संघीय र प्रदेश तहको निर्वाचन हुँदैछ । बजेट पास गरे पनि निर्वाचनको आचार संहिताले काम गर्न सक्दैनौं । चुनावको पछि नगरको विकास निर्माणको काम तिव्रतामा अगाडि बढ्छ ।

साँगादेखि २८ किलो भन्ने ठाउँसम्म करिब ६ किलोमिटर केन्द्रीय सरकारको बजेटमा ४ लेनको सडक बन्दै छ । बनेपाको चोकबाट नाला हुँदै भक्तपुर जाने बाटो पनि बन्दै छ । यी सडकहरु पनि विस्तार तथा स्तरोन्नती भयो भने थप सहज हुन्छ ।

अहिले पालिकाहरुमा फोहोर व्यवस्थापनको विषयलाई ठूलो चुनौतिको रुपमा लिएको पाइन्छ । तपाईंहरुले नगर भित्रको फोहोर व्यवस्थापनलाई कसरी कार्यान्वयन गर्नुएको छ ?

हामीले फोहोर मैलाको व्यवस्थापन आफ्नै किसिमले गरिरहेका छौं । हिजोका दिनमा सबै पालिकाहरूको एकै ठाउँमा जम्मा गरे फोहोर विसर्जन गर्न लाने चलन थियो । अहिले हामी वडामा नै फोहोर व्यवस्थापन गर्ने तर्फ लागेका छौं । वडामा उत्पादन भएको फोहोर वडामा नै व्यवस्थापन गर्नको लागि योजनाहरू अगाडि सारेका छौं । निर्वाचित भएर आएको २ महिनापछि देखि नै नगर भित्र फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रशिक्षण चलाएका थियौं । सबै भन्दा बढी फोहोर भान्साबाट निस्कन्छ । जसले दुर्गन्ध पनि फैल्याउँछ । प्लास्टिक कागज आदिबाट दुर्गन्ध आउँदैन । घरबाट निस्किएको फोहोर घरमा नै व्यवस्थापन गर्नको लागि हामीले घर–घरमा कम्पोस्ट मल बनाउने प्रशिक्षण दियौं ।

बनेपाको कोर एरिया वडा नं. ७, ८, ९ बढी बसोबास छ । सबै भन्दा बढी फोहोर पनि सोही क्षेत्रमा उत्पादन हुन्छ । त्यसैले त्यो एरियामा सोही योजनाहरू अगाडी सार्यौं । हामीले नगर भित्रको फोहोरलाई नगर भित्र नै व्यवस्थापन गरी यहाँको फोहोरलाई बाहिर नपठाउने तरीकाले काम गरिरहेका छौं ।

भान्साको फोहोरलाई व्यवस्थापन गर्न सक्यौं भने बाँकीलाई कच्चा पदार्थको रूपमा बेच्न सक्छौं । खानेपानीको बोतलका कारण पनि सहर फोहोर भइ रहेको छ । किनभने पानी खायो, बोतल फाँक्यो । त्यसैले पानी उत्पादन गर्ने कम्पनीहरूले नै सोही बेतलाई पुनः प्रयोगका लागि लैजान भनेका छौं । एक वर्ष भित्रमा नगर भित्र व्यवस्थापन गर्न सक्ने जति फोहोरको व्यवस्थापन नगरमा नै गर्छौं । अहिले हाम्रो नगरको फोहोर पनि बन्चरे डाँडामा नै व्यवस्थापन हुँदै आएको छ ।

नगर क्षेत्र भित्र अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्री पनि भइरहेको देखिन्छ । यसलाई व्यवस्थित बनाउन नगरपालिकाले कसरी काम गरिरहेको छ ?

नेपाल सरकारले पनि अहिले जग्गाको कित्ताकाटमा रोक लगाएको छ । अहिले घर जग्गा व्यवसायीहरूले आफूखुसी जग्गाको प्लटिङ गरिरहेका छन् । नगरपालिकालाई जानकारी नगराई धेरै मानिसहरुले जग्गाको खरीद बिक्री गरिरहेका छन् । जग्गाको प्लटिङ गर्ने क्रममा डाँडा खारेर घडेरी बनाउँदा माटो बगेर खोलाको सतह माथि बढी रहेको छ । त्यसलाई नियन्त्रण गर्नको लागि नगरपालिकासँग स्वीकृति नलिइकन जग्गा प्लटिङ गर्न नदिनु भनेर प्रत्येक वडालाई भनेका छौं । प्लटिङ गरे पनि जग्गाको वरपर वाल लगाएर प्लटिङ गर्नु होस् भनेका छौं । नगरपालिकामा जग्गा वर्गीकरणको काम भइरहेको छ । तर पछिल्लो समयमा नगरभित्र प्लटिङको काम नगन्य मात्रामा भइरहेको छ ।

विभिन्न जगंल छेउछाउमा पनि प्लटिङ हुने कटान हुने काम भइरहेको देखिन्छ नी ! के त्यस्तो संवेदनशील ठाउँमा प्लटिङ रोक्नुपर्दैन ?

हामी अब यस्ता ठाउँमा प्लटिङ गर्न दिदैनौं । नगरले प्लटिङ लागि स्वीकृत गरे पछि मात्र उनीहरूले सो काम गर्न पाउँछन् । हामी निर्वाचित भएर आउनु भन्दा अगाडि नै सुरु गरेका प्लटिङको काम रोक्ने कुरा आएन । तर, त्यसलाई आवश्यक पूर्वाधारहरू निर्माण भएपछि मात्र प्लटिङका जग्गा घडेरीको रूपमा बिक्री गर्न स्वीकृत दिने छौं ।

बनेपाले व्यवसायिक क्षेत्र विकासको पनि प्रवल सम्भावना बोकेको छ । सो विषयमा कसरी काम गर्नुभएको छ ?

बनेपालाई धेरै पहिलादेखि नै यातायातको हब भनेर पनि चिनिन्छ । अर्को विषय बनेपा व्यापारिक हब पनि हो । काठमाडौंबाट यता आइ सकेपछि जति पूर्व तिर ठुला व्यापार हुन्छ, त्यो सबै बनेपासँग जोडिएको हुन्छ । अरनिको र बिपी राजमार्ग बनेपासँग जोडिएको छ । बनेपा व्यावसायिक क्षेत्रका रूपमा पनि अगाडि बढी रहेको छ । काठमाडौं पछि व्यवस्थित गर्न सकिने पालिका नै बनेपा हो । यहाँ प्रशस्त मात्रमा उद्योगहरू पनि खुलीसकेका छन्, धेरै उद्योगहरू विस्तार भइरहेका छन् । पुर्वधार विकासमा पनि नगर नै अगाडि छ ।

बनेपाको पूर्वाधार, शिक्षा, स्वास्थ्यको सुधार र पर्यटन विकासमा तपाईंको जोड कत्तिको छ ? कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?

हाम्रो नगरपालिकाले यी सबै क्षेत्रहरूलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ । शिक्षित समाजको विकास हुन सकेन भने हरेक क्षेत्रमा पछि परिन्छ । त्यसैले शिक्षाको गुणस्तर वृद्धिमा नगर लागेको छ । करिब १५ वटा सरकारी माध्यमिक विद्यालयहरू नगरपालिका भित्र छन् । ती बाहेक प्राइभेट विद्यालयहरू धेरै छन् । सरकारी विद्यालयको स्तर बढाउनको लागि पाइलट प्रोजेक्टको रूपमा ४ वटा स्कुललाई विशेष किसिमले अगाडि बढाउने हाम्रो सोँच छ ।

हाम्रो नजिकै काठमाडौं विश्वविद्यालय पनि छ । सो विश्वविद्यालयसँग सहकार्य गरेर अटो मोबाइल विषय पढाउने सन्दर्भमा पटकपटक छलफल भइरहेको छ । सोही योजना पनि केही समयपछि अगाडि बढाउने छौं ।

बनेपा नगरपालिकाको वडा नं. १४ मा २ सय बेडको अस्पताल बन्दै छ । त्यसको लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक काम गरिसकेको छ । ३ वर्ष भित्रमा सो अस्पतालको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं । प्रदेश सरकारको सहयोगमा ५० बेडको आर्युवेद अस्पताल पनि नगर भित्र बन्ने प्रक्रियामा छ । आफ्नै बजेटमा वडा नं. ४ मा १५ बेडको अस्पताल बनाउने सोँच पनि राखेका छौं । त्यसको लागि संघीय सरकारमा पहल गरिरहेका छौं ।

हाम्रो कार्यकालमा बनेपालाई व्यापारिक र यातायातको क्षेत्र मात्र नभई पर्यटकीय क्षेत्र रूपमा विकास गर्ने र्छौं । कार्यकाल सकिने बेलासम्म पालिकालाई पर्यटकीय हब बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने काम गर्छौं । बनेपादेखि नगरकोटसम्म जोन सडक नगरपालिकाको बजेटमा नै निर्माण हुँदै छ । सो सडक निर्माण भए पछि बनेपाबाट १० किलोमिटरमा दुरीमा नै नगरकोट पुग्न सकिन्छ ।

पालिकामा सार्वजनिक सम्पत्ति तथा जग्गाहरुमा मोहीको स्वामित्व रहेको र अतिक्रमण भएको अवस्था कस्तो छ ?

सार्वजनिक जग्गा तथा अन्य सम्पत्तिहरूमा मोही देशैभरी भएको देखिन्छ । त्यसैले हाम्रो पनि छैन भन्न सकिन्न । गुठी, सार्वजनिक जमिन, जङ्गलका छेउका जग्गा अतिक्रमण नभएका हैनन् । तर, हामी आइसकेपछि यस्तो समस्या देखिएको छैन । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नगरपालिकाको उत्तरदायित्व हो । सार्वजनिक जग्गा हडपेर संरचना बनाउनेलाई कारबाहीको दायरा भित्र ल्याउँछौं । सार्वजनिक जग्गाको संरक्षण गरी पूर्वाधार बनाउने योजनामा पनि रहेका छौं ।

तपाईंको कार्यकालपछि अर्थात् अबको ५ वर्ष पछि बनेपा कस्तो बन्ला ?

हाम्रो लक्ष्य भनेको नगरपालिकालाई व्यवस्थित सहरको रूपमा विकास गर्नु हो । मुख्य गरी देखिने राजमार्ग र भित्री सडकहरू व्यवस्थित हुने छन् । बस्न योग्य व्यवस्थित सहरको रुपमा बनेपालाई विकास गर्छौं । यस भित्र शिक्षा, स्वास्थ्य, बिजुली लगायत सबै विषयमा सम्पन्न अर्थात आधारभूत पूर्वाधारको विकास गर्छौं । साथै ५ वर्षपछि बनेपा पर्यटकीय नगर भनेर पनि परिचित हुनेछ ।

हेर्नुहोस मेयर शाक्यसँग गरिएको भिडियो अन्तर्वार्ता :

Share News