कर नतिर्ने कम्पनीमा ताला लगाउँदै काठमाडौं महानगर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने ठूला संस्थाहरूलाई कारबाही गर्ने तयारी गरेको छ । महानगरले निश्चित समयको अल्टिमेट दिंदै पत्राचार गरे पनि कर तिर्न अटेर गरेपछि कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । महानगरपालिकाले कर नतिर्ने कम्पनीहरूलाई पुनः एक पटक पत्राचार गरेर तिहार पछि कारबाही गर्ने तयारीमा छ । पत्राचार गरेपछि पनि महानगरलाई कर [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने ठूला संस्थाहरूलाई कारबाही गर्ने तयारी गरेको छ । महानगरले निश्चित समयको अल्टिमेट दिंदै पत्राचार गरे पनि कर तिर्न अटेर गरेपछि कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।

महानगरपालिकाले कर नतिर्ने कम्पनीहरूलाई पुनः एक पटक पत्राचार गरेर तिहार पछि कारबाही गर्ने तयारीमा छ । पत्राचार गरेपछि पनि महानगरलाई कर नबुझाए कारबाही हुने महानगरपालिका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए । यस अघि लामो समयदेखि कर नतिर्ने ठुला तथा साना संस्थालाई महानगरले निश्चित समय दिंदै कर तिर्नको लागि ताकेता गरेको थियो ।

विभागीय प्रमुख अधिकारीका अनुसार कर नतिरे कम्पनीमा ताला लगाइने छ । समयमा नै कर नतिर्ने कम्पनीलाई रकमको जरिवाना पनि हुने पनि महानगरको भनाइ छ ।

कर तिर्ने ताकेता गरेपछि महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ असोज सम्मको तुलनामा चालु आर्थिक वर्षको असोजसम्ममा महानगरको राजस्व् करिब दोब्बरले वृद्धि भएको हो । चालु आर्थिक वर्षको असोज महिनासम्ममा २ अर्ब ३५ करोड ८० लाख १८ हजार ३ सय ८५ रुपैयाँ राजस्व संकलन भएको छ ।

‘हामीले कारबाही गर्न पनि प्रक्रिया पुर्याउनु पर्छ, सो प्रक्रिया पुर्याएर कारबाही गर्छौं, तिहारपछि केही समय दिएर पत्राचार गर्छौं, हामीलाई कर नतिर्ने कम्पनीलाई ताला लगाउन सक्नेसम्मको अधिकार छ, ताला लगाउने नलाउने भन्न विषयमा महानगरको पनि छलफल हुन्छ,’ उनले भने । कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्न सक्ने व्यवस्था छ ।

यी हुन् कर नबुझाउने संस्था तथा कम्पनी

काठमाडौं महानगरपालिकाले कर बुझाउन पत्राचार गरेर ताकेता गरे पनि धेरै ठूला संघ संस्था कम्पनीहरुले कर बुझाउन बाँकी छ । महानगरपालिका अनुसार कर नबुझाएका कम्पनीलाई पत्राचार गरे पनि उनीहरूले वास्ता नगरको बताएको छ । कतिपय संघ संस्थाहरूले कर नलाग्ने भन्दै सात प्रतिशत कर छुट समेत मागेको महानगरले जनाएको छ ।

अधिकारीका अनुसार केही कम्पनीहरूले कर तिर्नको लागि थप समय मागेका छन् । महानगरले पत्राचार गरे पनि खाद्य संस्थान, ह्वाईट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेसनल ट्रेडिङ्ग लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, आर.बि. कम्प्लेक्स र नेपाल सेयर मार्केटले पनि सम्पत्ति कर बुझाउन बाँकी छ ।

यसै गरी काठमाडौं प्लाजा, शैलेन्द्र राज मानन्धर, काठमाडौं इन्जिनियरिङ कलेज र सिभिल मलले सम्पत्ति कर बुझाउन बाँकी रहेको महानगरपालिकाले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरलाई १९ करोड रुपैयाँ कर बुझाउनु पर्ने भएको छ । यस्तै, क्यासिनो प्याट, र्याडिसन होटल–२, साँग्रिला क्यासिनो, साँग्रिला होटल–३, रोयल र क्यासिनो याक एण्ड यति–१ ले मनोरञ्जन कर तिर्न बाँकी छ ।

यि हुन् कर बुझाउने २० संस्था

काठमाडौं महानगरपालिकाले कर बुझाउनका लागि ताकेता गरेपछि चालु आर्थिक वर्षमा २० वटा संस्थाले भने कर बुझाएका छन् । कुनै संस्थाले थोरै बुझाएर थप किस्ता बुझाउँदै जाने प्रतिबद्धता पनि गरेका छन् ।

काठमाडौं महानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको असोजसम्म ८६ लाख ४५ हजार १ सय ८९ रुपैयाँ मनोरञ्जन कर संकलन भएको छ । काठमाडौं फन पार्कले १७ लाख ३६ हजार ११, डेल्टीन क्यासिनो होटल म्यारियटले २१ लाख ४२ हजार ३४, क्यासिनो अन्पुर्ण होटलले ११ लाख ८५ हजार ४ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् ।

यस्तै, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रीएसन हायात होटलले ९ लाख ८९ हजार ४ सय ६०, बाल्को क्यासिनो होटल एलफ्ट–२६ ले २ लाख १० हजार २ सय ५८, माजोङ्ग इन्टरनमेन्ट होटल सोल्टी–२३ ले ९ लाख ९३ हजार ६ सय र बेलीज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् ।

मनोजङ्ग इन्टरटेन्मेन्ट होटल सोल्टीले १७ लाख ८५ हजार ५ सय र महावीर प्यालेसले १ लाख १५ हजार गरी जम्मा १९ लाख ५ सय व्यवसायिक कर बुझाएका छन् ।

यसै गरी महानगरपालिकाले पत्राचार गरे पश्चात् २ करोड ३८ लाख १२ हजार ५९ रुपैयाँ सम्पत्ति करको संकलन गरेको छ । मनमोहन मेमोरियल कलेज एण्ड शिक्षणले ८९ लाख, सिविक हस्पिटल प्रा.लि.ले ८ लाख ३५ हजार ३ सय ८०, नेपाल फाइनान्स लिमिटेडले १४ लाख ७० हजार ४ सय १२, शैलेन्द्र राज मानन्धरले २ लाख ४४ हजार ७ सय २८ र केदारलाल श्रेष्ठ १३ लाख ९२ हजार ७ सय ९१ रुपैयाँ सम्पत्ति कर बुझाएका छन् ।

यस्तै, कान्तिपुर डेण्टल कलेजले ५२ लाख, सगरमाथा इन्स्योरेन्सले ८ लाख ८ हजार १ सय ४७ हजार, भिजी अटो मोबाइलले ११ लाख ७८ हजार, ८ सय ४७, गोपालजी प्रोपर्टिजले ५० लाख ६६ हजार ७ सय ३ सय, देवेन्द्र लाल श्रेष्ठ १४ लाख ८५ हजार ५१, सिद्धार्थ वनस्थली इन्स्टिच्युट २ लाख रुपैयाँ सम्पत्ति कर बुझाएको छ ।

Share News