पप्पु कन्स्ट्रक्सनसँग ठेक्का तोडिएकाे तीनकुने पुल अब नयाँ प्रक्रियाबाट बनाइने

काठमाडौं । लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो । अब १५/२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । समयानुसार बजार भाउ बढ्दा पहिलेभन्दा बजेट बढ्नेछ । पुल ‘डिजाइन एण्ड बिल्ड’ का आधारमा बनाउन शुरु भएको थियो । आयोजनाका प्रमुख गुरु अधिकारीले भने, “पहिलेजस्तै बन्छ, लम्बाई, चौडाइ केही पनि परिवर्तन हुँदैन ।” सरकारले कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैङ्कको जमानत फिर्ता लिइसकेको छ । कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा ल्याइएको हो । मोबीलाइजेशन कम्पनीलाई उपलब्ध गराएकामा त्यो फिर्ता भएको छ । कम्पनीले बीचमा काम छाडेकाले बाँकी काम कति छ त्यो कामको अहिलेको मूल्यमा २५ प्रतिशत सरकारी बाँकी सरह असुल गरिनेछ । उनले भने, “त्यो अहिलेको मूल्यको हिसाबले छ सात करोड हुनेछ ।” नयाँ ठेक्का सम्झौतामा गएपछि बनाउन करिब तीन वर्ष लाग्नेछ । पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सडक विभागले केही समय पहिले पुरानो ठेक्काको मूल्याङ्कन गरेको थियो । कम्पनीले चार जग (फाउण्डेशन) बनाएकोमा एउटा मात्रै स्वीकार गर्न सकिने पाइएको थियो । निर्मितमध्ये प्राविधिक रुपमा समस्या देखिएका संरचना भत्काउनेसम्मको खर्च कम्पनीलेनै बेहोर्नुपर्ने व्यवस्था छ । आयोजनाले विसं २०७१ मा सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल बनाउन सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुईदुई पुल बनाउन एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढेको थिएन । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि उक्त पुल निर्माणमा भएको ढिलाईमा चासो देखाउँदै छलफलसहित स्थलगत निरीक्षण गरी गत साउनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणमा भएका त्रुटि सच्याउन निर्देशन दिएको थियो । प्राविधिक त्रुटि पाइएपछि सरकारले गत वर्ष भदौ ३१ मा बनेको संरचना भत्काएर नयाँ बनाउन भनेको थियो । विभागले गत वर्ष असोज १३ मा ठेक्का अन्त्य गर्ने सूचना प्रकाशन गरयो । त्यसपछि विभागले मङ्सिर ८ मा ठेक्का तोडेपछि कम्पनीले निषेधाज्ञा (कालोसूची) फिर्ता र मध्यस्थ नियुक्तिको माग गर्दै मुद्दा दायर गरयो । कम्पनीले उच्च अदालतमा दुई र काठमाडौँ जिल्ला अदालतमा दुई मुद्दा हाले पनि सबै खारेज भयो । कोभिड-१९ को सङ्क्रमणकै समयमा विभागले कम्पनीलाई कालोसूचीमा राख्यो जुन सन् २०२३ को फेब्रुअरीसम्म रहनेछ । २१ करोड ३३ हजार रुपैयाँ बजेटमा बनाउने गरी ठेक्का भएको थियो । नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्क एन्ड ब्रिज) प्रविधिबाट सो पुल निर्माण गर्ने सम्झौता भएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भएपनि यसमा माथिल्लो भागमा पर्नेछ । बढी लगानी भए पनि अरूभन्दा टिकाउ हुन्छ । शहरी क्षेत्रको सुन्दरता बढाउन अरू देशका शहरी क्षेत्रमा सो प्रविधिको पुल बनाउने गरिन्छ । एक दशक पहिले माइतीघरदेखि सूर्यविनायकसम्मको सडक छ लेनको भए पनि यी दुई पुल चार लेन थियो । भक्तपुरतर्फ जाने सडकमा माइतीघरबाटै सडक जाम हुने भएकाले त्यो कम गर्न नयाँ पुल विस्तार गर्न लागिएको थियो । रासस

काष्ठमण्डपको ७५ प्रतिशत काम सकियाे, उद्घाटन ध्वस्त भएकै मितिमा गरिने

काठमाडौं । एतिहासिक काष्ठमण्डप आगामी बैशाख १२ गते उद्घाटन हुने भएको छ । २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिए । आज दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन वशन्तपुर दरबारक्षेत्र पुगेका मन्त्री ज्ञवालीले बैशाख १२ गते उद्घाटन गर्ने जानकारी गराएका हुन् । काष्ठमण्डप पुनःनिर्माणको अवस्थाबारे जानकारी लिँदै परराष्ट्रमन्त्री ज्ञवालीले, ‘काष्ठमण्डपको पुननिर्माणको अवस्था देख्दा स्थानीय जनता सहितको सहभगितामा सम्पदा निर्माणमा नमुना स्थापित भएको देखेको छु । मौलिक परम्परालाई जोगाएर तिब्रताका साथ काम भएको देख्दा सरकारको तर्फबाट मैले धन्यबाद दिनैपर्छ, यस्ता सम्पदा पुननिर्माणमा स्थानीय जनताको सहभागिता मुख्य देन हो ।’ शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन बैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भैरहेको बताए । स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुननिर्माण समिति मार्फत पुनःनिर्माण गर्न शुरु देखिनै पहल थालेका मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गरे । ‘हनुमानढोका दरबारक्षेत्र लगायत देशका महत्वपुर्ण सम्पदा पुनःनिर्माण गर्दा स्थानीयलाई सहभागिता गराउनु आवश्यक छ । मिति घोषणा गरिसकेका छौ, सोही आधारमा तयार थाल्न आग्रह गर्छु ।’, उनले भने । काष्ठमण्डप पुननिर्माण समितिका संयोजक एवं वागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आएपनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै भने- ‘हामीले एतिहासिक जिम्मेवारी पाएका छौं, त्यसलाई पुरा गर्नेछौं । यो हाम्रो मुख्य कर्तब्य हो ।’ उनका अनुसार काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपैयाँ लाग्नेछ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो । काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । पुननिर्माणमा प्रयोग भएको प्रविधिबारे जानकारी दिँदै संयोजक एवं प्रदेश सांसद शाक्यले भने- ‘हामीले सातौ शताब्दीकै प्रविधि प्रयोग गरेका छौ । माटो र त्यसबेला प्रयोग गरेका समाग्रीलाई प्रयोग पुननिर्माण गरेका छौं । सातौं शताब्दीमै प्रयोग गरिएको साइजको इट्टा प्रयोग गरेका छौं, समितिले इट्टा निर्मँण कम्पनीलाई विशेष आग्रह गरी सातौ शताब्दीकै साइजको इट्टा निर्माण गर्न लगाएका छौं ।’ उनले आगामी बैशाखसम्म पुननिर्माण सम्पन्न हुने बताए । अहिले करिब ७५ प्रतिशत काम सकिएको छ । फागुन अन्तिम सम्म सक्नेछौं । सरकारले घोषणा गरेकै समयमा उद्घाटन गर्नेगरी अन्तिम काम भैरहेको बताए । काष्ठमण्डप पुननिर्माण भैसकेपछि काष्ठकलाको विषयमा अध्ययन गर्नेका लागि एकमात्र सम्पदा हुने उनको भनाई थियो । सबै कामको डकुमेन्टेशन गरी कुन समान कति लाग्यो तथ्याङक तयार पारेको उनको भनाई थियो । उनले शहरी विकासमन्त्री श्रेष्ठको निरन्तर पहल कदमीको कारण पुननिर्माण गर्न सहज भएको बताए । काष्ठमण्डप पुननिर्माण गर्न करिब १३ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ । समितिले २०७५ वैशाख ३१ मा काम शुरु गरेको थियो । महानगरपालिका र समिति बीच जेठ २९ गते सम्झौता भएपनि पुननिर्माण शुरु भएको थियो । अवलोकन पछि बोल्दै मन्त्री श्रेष्ठले श्रेष्ठले काठमाडौंवासीको सानको रुपमा रहेको यो सम्पदा समयमै सम्पन्न गर्न समितलाई आग्रह गरेका थिए । पुननिर्माण भैरहेको काष्ठमण्डप चार घेराको सय वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक-एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ । काष्ठमण्डपको पुननिर्माण गर्न ठुलो र सानो आकारको गरी २ लाख थान माःअप्पा इट्टा लाग्ने अनुमान गरिएको छ । ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इट्टा आवश्यक पर्नेछ । अवलोकन कार्यक्रममा प्रदेश सांसद अजयक्रन्ति शाक्य, गौतम शाक्य लगायत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

लालबन्दीमा साढे १७ करोड लागतमा एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने

फाइल फाेटाे सर्लाही । जिल्लाको लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ । छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ । लालबन्दीका पाँच वटा वडामा ५०० घर निर्माण गरिने भएको वडा नम्बर ५ का अध्यक्ष मोहन भण्डारीले जानकारी दिए । जनता आवास कार्यक्रमअन्तर्गत नगरका पाँच वटा वडामा प्रतिवडा १०० घर बनाइने भएको हो । ट्रस मोडलमा बनाइने ५०० घर अतिविपन्न दलित समुदायलाई निर्माण गरेर हस्तान्तरण गरिने जनता आवास कार्यक्रमका कार्यक्रम संयोजक तथा प्रदेशसभा सदस्य नीरा साहले बताए । प्रतिघर निर्माण गर्न तीन लाख ५० हजार रुपैयाँका दरले १७ करोड ५० लाख रुपैयाँ लाग्ने उनले बताए । शौचालयसहित प्रत्येक घर निर्माणको लागत तीन लाख ५० हजार रुपैयाँ लाग्ने र त्यसबाहेक १० प्रतिशत श्रमदान गर्नुपर्ने छ भने आफूहरूले काममा खटिएबापतको रकम पनि पाउने कार्यक्रम संयोजक साहले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ भित्र नै सक्ने गरी प्रदेश सरकारले १७ करोड ५० लाख रूपैयाँ रकम उपलब्ध गराएको प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले जानकारी दिए । अतिविपन्न दलित समुदायले आफ्नो घरसमेत बनाउन नसक्ने भएका कारण सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत ५०० अतिविपन्न दलित समुदायको घर बनाई दिने भएको हो भने अहिले करिब २५० घर निर्माणको क्रममा रहेको आयोजकले बताएको छ । रासस