एघार लघु जलविद्युत् आयोजना अलपत्र
जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र बनेका छन् । दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्णरुपमा बन्द भएका हुन् । तीन वर्ष अघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भएपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती आयोजना पनि बन्द भएका हुन् । पछिल्ला केही वर्ष यता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका वडाहरुमा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको हो । दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे सात किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङ गाविसमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत पूर्णरुपमा बन्द रहेका छन् । त्यस्तै बाच्छा गाविसको बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । पर्वतको मोदी गाउँपालिका—१ भुकताङ्गमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ । उता महाशिला गाउँपालिका—२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि दुई वर्ष अघि गाउँमा केन्द्रीय प्रशारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र कम थोरै क्षमता हुने भएपनि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति उर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट समेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको उनले बताए । पछिल्लो समय स्थानीय तहहरुले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भिमबहादुर खड्काले बताए । “२५ वाट क्षमताको बल्ब महिनाभर चलाएको २५ रुपैयाँ तिरे पुग्थ्यो”, तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भन्नुभयो, “केन्द्रीय लाइनभन्दा लघु जलविद्युत्बाट उत्पादित बिजुली सस्तो भएपनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।” जिल्लाका ११ वटा लघुजलविद्युत् आयोजनाबाट१५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार ४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएका थिए । विसं २०५५ देखि सञ्चालनमा रहेका यी आयोजनाहरु अहिले भग्वावशेष बनेका छन् । एघार ओटा आयोजनाको लागि दुई करोड २५ लाख खर्चिएपनि केन्द्रीय प्रशारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् । रासस
‘मेलम्चीको पानी काठमाडौं झार्ने सपना कार्यान्वयन नजिक’
काठमाडाैं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने चार दशक लामो सपना कार्यान्वयनको नजिक आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सो क्षेत्रका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ इ.गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख तिरेश खत्रीसहितको टोलीले बुधबार यस आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण गरेको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पूरा हुने अन्तिम चरणमा पुगेको पाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजल ल्याएर काठमाडौँ उपत्यकावासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै समस्या नभए विसं २०७७ भित्रै पूरा हुने उल्लेख छ । उपत्यकामा छिट्टै उपभोक्ताले आआफ्नो घर र धारामा उपलब्धमा मेलम्चीको पानी उपलब्ध हुने देखिएको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए । सत्ताईस किमी लामो सुरूङबाट छिट्टै दैनिक १७ करोड लिटर पानी ल्याउने तयारी रहेको छ । सुरूङभित्रका गेटहरूको पुनःडिजाइन अनुरूप बलियो पुनःनिर्माणको काम धमाधम भइरहेको आउँदो मङ्सिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेको छ । याङ्ग्री र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने हिसाबले ‘हेड बक्स’ को निर्माण तीव्र रूपमा चलिरहेको छ । सुरूङ जम्मा ५१ करोड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेको छ । जम्मा रु २९ अर्ब बजेट लागतमा निर्माण भइरहेको यस आयोजनाले उपत्यकामा पानीको सङ्कट र प्यास मेटाउन महत्वपूर्ण योगदान गर्ने विश्वास सर्वत्र गरिएको छ । मेलम्ची खानेपानी आयोजना शुरु भएको लामो समयपछि यो आयोजना पूरा हुन गइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वका कारण नै यो सम्भव भएको थापाले उल्लेख गरे । आयोजनामा यस अघि काम गरेको इटालियन कम्पनीले श्रम र सामान आपूर्ति गर्नेलाई भुक्तानी गर्न बाँकी छ । यो समस्याको विवेकसम्मत सम्बोधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयोजनाको सफल कार्यान्वयन अन्तिम चरणमा पुगेको बताइएको छ । रासस
पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बनाइँदै
पाेखरा । पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ । तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ । भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत पाँच हजार/पाँच हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क निर्माण गरिने छ । रु ७७ करोड ७७ लाख (भूल्य अभिवृद्धि करबाहेक) को लगानीमा ट्याङ्की निर्माण गर्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उक्त भण्डारण गृह निर्माण भएपछि कम्तीमा ४० देखि ४५ दिनको इन्धनको माग धान्न सक्नेछ । यो नेपालकै दोस्रो ठूलो भण्डारण गृह हुनेछ । हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाका रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि शुरु भएको पनि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । पोखरा डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुङ्गा सावित हुने उनको विश्वास छ । उक्त भण्डारण गृह निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । पहिलोपटक नेपाली ठेकेदारसहित भारतीय निर्माण कम्पनीले परियोजना निर्माण गर्दैछ । आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको आयोजना प्रमुख मनोजकुमार ठाकुरले जानकारी दिए । आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि तोकिएको समयअगावै आयोजना सम्पन्न हुने बताइएको छ । निगमको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका कास्की, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, मुस्ताङ र तनहुँका केही भागमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ । प्रादेशिक डिपोबाट हाल दैनिक २४० किलोलिटर डिजेल र १२० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ । यस्तै एक सातामा २० किलोलिटर मट्तिेल बिक्री हुँदै आएको छ । गण्डकी प्रादेशिक डिपोको हालको भण्डारण क्षमता डिजेल २२८० किलोलिटर, पेट्रोल ३५० किलोलिटर र मट्टिलेल ७६० किलोलिटर रहेको छ । नयाँ भण्डारण गृह बनेपछि हाल डिजेल भण्डारण हुँदै आएको टयाङ्कीमा पेट्रोल भण्डारण गर्ने निगमको योजना छ । निगमसँग हाल मुलुकभर डिजेलको माग आठ दिन र पेट्रोलको माग पाँच दिन धान्ने क्षमता छ । निगमको इतिहासमा झण्डै दुई दशकपछि भण्डारण क्षमता विस्तार हुन लागेको हो । विसं २०५६ यता निगमले नयाँ भण्डारण गृह बनाउन सकेको थिएन । पर्याप्त भण्डारण क्षमता नहुँदा २०७२ सालमा भारतले नाकाबन्दी गर्दा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको थियो । समयमै भण्डारण क्षमता विकास गर्न नसक्दा नाकाबन्दीका बेला इन्धन अभाव भएको भन्दै चर्को निगमको आलोचना भएको थियो । “लामो समयदेखि निगमको भण्डारण क्षमता बढाउन सकिएको थिएन, सरकारको नीति कार्यक्रमअनुसार भण्डारण क्षमता विस्तार गर्ने काम पोखराबाट शुरु भएको छ”, उनले भने, “भण्डारण क्षमता विस्तारसँगै सबै प्रादेशिक कार्यालयललाई मजबुद बनाउँदै लैजान्छौँ । दीर्घकालीन रुपमा विभिन्न स्थानमा भण्डारण क्षमता वृद्धि गर्ने लक्ष्य छ ।” भण्डारण क्षमता बढेपछि बन्द, हड्तालका साथै पेट्रोलियम पदार्थको आपूर्तिमा व्यवधान आएपनि निश्चित समयसम्मका लागि उपभोक्ताले सास्ती व्यहोर्नु नपर्ने उनले बताए । गण्डकी प्रादेशिक कार्यालयमा भण्डारण क्षमता निर्माणका लागि पर्याप्त जग्गा भएका कारण पनि पहिलो चरणमा पोखरामा भण्डारण गृह बनाउन लागिएको हो । भण्डारण गृह निर्माण भएसँगै समग्र गण्डकी प्रदेशको वितरण चक्रमा ठूलो प्रभाव पर्ने प्रवक्ता उपाध्यायको भनाइ छ । “कथमकदाचित पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भयो भने पनि त्यस क्षेत्रका जनताले निर्वाधरुपमा इन्धनको उपभोग गर्न पाउनेछन्, बन्द हड्तालले कुनै फरक पार्दैन”, उनले भने । डिपोमा एक नयाँ पहुँच सडक, दुई लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि नयाँ संरचना निर्माण गरिनेछ । इन्धन भण्डारण टयाङ्क र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्णस्वचालित हुने निगमले जनाएको छ । डिजेल लोड र अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिामा आधारित हुने छ । डिपोका भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीका कार्य पनि परियोजनाका शिलसिलामा हुने बताइएको छ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० टयाङ्करले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । टयाङ्कर अनलोडका लागि प्रतिघन्टा १२० किलोलिटर क्षमताका पाँचवटा पम्प जडान गरिने छ । चारवटा नयाँ ‘वे’ पनि सञ्चालन हुनेछन् । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगालागीलगायत दुर्घटना पहिचान गर्न विशेष प्रविधिमा डिपोमा जडान गरिनेछ । आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने रिमोट कन्ट्रोल प्रविधिमा राखिने छ । कुनै पनि कारणले डिपोमा आगोलागी भएको खण्डमा करिब दुई घन्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा बनाइने छ । सत्तरी प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरणको प्रयोग गरिने छ । परियोजना सम्पन्न भएपछि काठमाडौँ उपत्यकाको ब्याकअपका रुपमा पनि पोखरा डिपोले काम गर्ने छ भने गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको संरचनामा समेत ठूलो सुधार हुने कार्यकारी निर्देशक पौडेलको विश्वास छ । रासस